चोनबुरी एफसीसँग नेपाल पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको स्थानीय चोनबुरी एफसी क्लबसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–१ गोलले पराजित भएको हो । चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक/ एक गोल गरेका थिए । नेपालका दर्शन गुरुङले एक गोल फर्काएकाे थिए ।
खेलको २४औँ मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६५ औँ मिनेटमा रेनाटोले गोल गर्दै चोनबुरीको अग्रता दोब्बर पारेका थिए । खेलको ८३ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए । नेपालले यस अघि थाइल्यान्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
उक्त खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल रहेको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुने छन् । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ।
प्रतिक्रिया