संघीय सांसदसहित विभिन्न पार्टीका नेतालाई स्वागत गर्न अध्यक्ष ओली कपिलवस्तु जाँदै

नेपालखोज २०७८ चैत १४ गते १०:००

काठमाडाैं । प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदै छन् । संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आज जान लागेका हुन् ।

अध्यक्ष ओलीले बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो उनी तौलिहवा जानेछन् । साँझ फर्केर बुटवल बस्ने जनाइएको छ । त्यस्तै मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उदघाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्यका जनप्रतिनिधिसहित ठूलो संख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देहीले जनाएको छ । चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ वाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने सो पार्टीले जनाएको छ । यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजार बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु गएका थिए ।

प्रतिक्रिया