ध्वनि प्रदूषणले ग्रस्त दक्षिण एसिया

काठमाडौं । युनाइटेड नेसन्स इन्भारमेन्ट प्रोग्राम (यूएनईपी) को एक रिपोर्टअनुसार संसारको सबैभन्दा ध्वनी प्रदूषणयुक्त सहर बंगलादेशको राजधानी ढाका हो । ढाकाको ध्वनि प्रदूषण ११९ डेसिबल छ ।
यसैगरी भारतको उत्तर प्रदेशस्थित मुरादाबाद सहर ध्वनि प्रदूषणको मामिलामा संसारमै दोस्रो सबैभन्दा प्रदूषित सहर मानिएको छ । मुरादाबादको ध्वनि प्रदूषण ११४ डेसिबल (डीबी) नापिएको छ । यो रिपोर्टमा सबैभन्दा बढी ध्वनि प्रदूषण भएका ६१ वटा सहरको उल्लेख छ । तेस्रो स्थानमा पनि दक्षिण एसियाली सहर नै छ । पाकिस्तानको राजधानी इस्लामाबादको ध्वनि प्रदूषणको स्तर १०५ डीबी छ ।
युएनईपी को ‘फ्रन्टियर-२०२२’ रिपोर्टमा ध्वनि प्रदूषणलाई पर्यावरणको नयाँ खतरा मानिएको छ ।
रिपोर्टमा ध्वनि प्रदूषणले ग्रस्त सहरमा दक्षिण एसियाका १३ वटा सहर सहभागी छन् । जसमा भारतका पाँचवटा सहर छन् । यो रिपोर्ट दिउँसोको समयमा यातायात अथवा वाहनसँग सम्बन्धित ध्वनि प्रदूषणमा आधारित छ ।
रिपोर्टमा भारतका जयपुर, कोलकाता, आसनसोल तथा दिल्लीलाई पनि सामेल गरिएको ६ जसमा दिल्लीको ८३, जयपुरको ८४, कोलकाता र आसनसोलको ध्वनि प्रदूषण ८९-८९ डेबिसल बताइएको छ । ७० डेसिबलभन्दा बढीको ध्वनि प्रदूषण स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को १९९९ को दिशानिर्देशअनुसार आवासीय क्षेत्रको ध्वनि प्रदूषण ५५ डेसिबलभन्दा बढी हुनुहुँदैन भने यातायात तथा व्यावसायिक क्षेत्रमा यसको सीमा ७० डेसिबल निर्धारण गरिएको छ ।
रिपोर्टमा यूएनईपीका कार्यकारी निर्देशक इङर एन्डरसनले भनेका छन्, ‘बढदो सहरिकरणसँगै, ध्वनि प्रदूषण पर्यावरणको प्रमुख खतरा बन्दै गएको छ । ध्वनि प्रदूषणको उच्च स्तरले निद्रामा असर पारेर मानव स्वास्थ्य तथा खुसीलाई दुस्प्रभावित तुल्याउँछ । यसले जनावरका कैंयन् प्रजातिको सञ्चार तथा सुन्ने क्षमतामा नकारात्मक असर पुर्याउँछ ।’
रिपोर्टअनुसार, लामो समयदेखिको उच्च ध्वनि प्रदूषण आममानिसका साथै नीति निर्माताहरुको पनि चिन्ताको विषय हो । युरोपियन युनियनका कम से कम २० प्रतिशत नागरिक स्वास्थ्यका दृष्टिले हानिकारक ध्वनि प्रदूषणको चपेटामा छन् ।
रिपोर्ट भन्छ, ‘नियमित रूपले दिनको आठ घण्टा ८५ डेसिबल ध्वनिको सम्पर्कमा रहँदा कानको सुन्ने क्षमता स्थायी रूपले समाप्त हुनसक्छ ।’ यसैगरी सहरहरुमा लामो समयसम्म अपेक्षाकृत बढी ध्वनि प्रदूषणको सम्पर्कमा रहँदा शारीरिक एवं मानसिक स्वास्थ्यलाई नोक्सान हुन्छ ।
रिपोर्टअनुसार, युरोपमा लामो समयसम्म ध्वनि प्रदूषणमा बस्नेहरूमध्ये वार्षिक १२ हजारजतिले अकालमा मृत्यु बेहोर्नुपर्छ भने ४८ हजारजति हृदय रोगका नयाँ बिरामी देखापर्छन् । यसक्रममा २.२ करोड मानिस चिडचिडापनले पीडित हुन्छन् ।
क्यानाडाको टोरन्टोमा १५ वर्ष लगाएर गरिएको एक अध्ययनअनुसार यातायातका साधनको हल्लाका कारण आठ प्रतिशत मानिसमा हृदयघात तथा मधुमेहको खतरा वृद्धि भएको पाइयो जबकि २ प्रतिशत मानिसमा हाइपरटेन्सन अर्थात् उच्च रक्तचाप बढेको देखियो ।
कोरियामा गरिएको एक अर्को अध्ययनअनुसार दिउँसोको ध्वनिमा एक डेसिबलको वृद्धि ले कार्डियो (हृदय) तथा सेरेब्रोभास्कुलर (मस्तिष्कमा रक्त प्रवाह सँग सम्बन्धित) बिरामीको खतरा ०.१७ देखि ०.६६ प्रतिशतसम्म बढ्छ । रिपोर्टअनुसार, अन्य प्रदूषणजस्तै ध्वनि प्रदूषणको पनि रोकथाम गर्न सकिन्छ । कैंयन् देशमा यससँग सम्बन्धित कानुनहरु पनि बनेका छन् तैपनि संसारमा ध्वनि प्रदूषणको समस्या भने लगातार बढिरहेको छ ।
प्रतिक्रिया