त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज मलेसियासँग खेल्दै नेपाल

नेपालखोज २०७८ चैत १६ गते ११:१४

काठमाडौं । नेपालको घरेलु मैदानमा आयोजना भइरहेको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले बुधबार (आज) मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसियाबिच १२: ३० मा खेल सुरु हुने छ ।

सिरिजमा दुबै टोलीले आफ्नो सुरुवाती खेल जितेकाले पनि नेपाल र मलेसियाबिचको खेल रोमाञ्चक हुने आँकलन गरिएको छ। दुबै टोलिले सिरिजको अर्को सहभागि टीम पपुवा न्युगिनी (पीएनजी) माथि उच्च स्कोर बनाउँदै जित निकालेको थियो । नेपाल र मलेसिया चिरपरिचित प्रतिद्वन्दिका रुपमा रहेपनि नेपाल मलेसियामाथि हावि हुँदै आएको छ । मलेसियासँग भएका ६ टी–ट्वान्टी खेलमा नेपालले ५ खेलमा जित निकाल्दा मलेसियाले एक खेलमा नेपाललाई हराएको छ ।

पहिलो पटक सन् २०१९ मा नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगिता अघि जुलाईमा मलेसियासँग दुई खेलको सिरिज खेलेको थियो । जसमा नेपालले दुबै खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप गरेको थियो । त्यस्तै आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगितामा समेत नेपालले मलेसियालाई पराजित गरेको थियो । सन् २०२० को एसीसी इस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगितामा भने नेपाल पहिलो पटक मलेसियासँग पराजित हुन पुगेको छ ।

प्रतिक्रिया