एनआरएनहरुलाई साथ दिन सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरु लगायत अन्य पदाधिकारीहरुले मंगलबार प्रधानमंत्री शेर बहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै भेट गरी दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोड सहित ज्ञापनपत्र बुझाएका छन् ।
उक्त अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले एनआरएनहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिए । उनले एनआरएनहरु नेपालका अवैतनिक राजदूत हुन् भन्दै उनीहरुलाई विदेशी लगानी भित्र्याउन आग्रह गरे । उनले नेपालको विकासमा एनआरएनहरुले धेरै ठूलो योगदान पुर्याएको भन्दै एनआरएनहरुलाई साथ दिन सरकार तयार रहेको बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनहरुले उठाउदै आएको दोहोरो नागरिकता, मतदानको अधिकार लगायतका विषयमा कांग्रेस पार्टी सकारात्मक रहेको बताए ।
कार्यक्रमको सुरुमा नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघको तर्फबाट एक ज्ञापनपत्र पढेर सुनाएका थिए । ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक श्रद्धाश्रम (वृद्धाश्रम) बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका वाधा व्यवधान हटाउन आग्रह गरिएको छ ।
उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष रबिना थापाले विदेशबाट फर्केर आएका महिलाहरुका लागि आश्रय गृह ९शेल्टर० खोल्न सरकारले सहयोग गर्नुपर्ने बताइन् । अर्का नवनिर्वाचित अध्यक्ष डा बद्री केसीले संघले कोभिडको बेला ५० देशमा २,५०० भन्दा बढी नेपालीहरुलाई सहयोग गरेको बताए । उनले संघले रुस(युक्रेन युद्धको चपेटामा परेका ५०० भन्दा बढी नेपालीहरुलाई एक हप्ता भित्रै उद्धार गरेको पनि जनाए ।
त्यस्तै मंगलबार बेलुका एनआरएनएका पदाधिकारीहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) सँग भेट गरेका छन् ।
खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा अध्यक्ष दाहालले तीन जना अध्यक्ष रहेको संघको कार्यसमितिलाई नै सरकारले मान्यता दिने प्रष्ट पारे । उनले अहिलेको अवस्थामा गैर आवासीय नेपालीहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गरे ।
‘तीनै जना अध्यक्ष भन्दा कस्तो कस्तो सुनिए पनि गैर आवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले यसले नै सबैलाई गोलबद्ध गर्न सक्छ,’ उनले भने ।
सो अवसरमा प्रमुख संरक्षक शेष घलेले सहमति भन्दा बाहिर गएर अर्को समिति गठन गरेको तर्फ एनआरएनएका पदाधिकारीले ध्यानाकर्षण गराए पछि अध्यक्ष प्रचण्डले घलेसँग आफ्नो भेट भएमा उनलाई पनि यतै आएर गोलवद्ध हुन अनुरोध गर्ने बताए । नेपालीहरु फुटेर भन्दा पनि जुटेर अघि बढ्दा नेपाल र नेपालीको हित र समृद्धि तथा विकास निर्माणको चाहनाले पूर्णता पाउने विश्वास उनले व्यक्त गरे ।
यस्तै, एनआरएनएलाई नागरिकता दिने सवालमा राजनीतिक दलहरुका बीचमा छलफल भइरहेको बताउँदै समस्या समाधानका लागि माओवादीको पनि सकारात्मक पहल हुने अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया