सोमबार, वैशाख १५, २०८२

कुर्था-जयनगरसम्म रेल आइतबारदेखि

९० रुपैयाँमा नेपाल-भारत आउजाउ

नेपालखोज २०७८ चैत १७ गते ११:३६

काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आइतवारदेखि औपचारिक रूपमा रेल सञ्चालन हुने पक्कापक्की भएको छ । पर्सि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि रेल सञ्चालनमा ल्याउने अधिकारीहरूले बताएका छन् ।

सञ्चालनमा आउने ३५ किलोमिटर रेल खण्ड भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको खण्ड हो । उक्त रेलमार्गका लागि भारत सरकारको ८.७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ । ‘सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद् गर्नुपर्ने हुन्छ । एसीसहितको डिब्बामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ’, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताएका छन् ।

हालसम्म सो रेल दैनिक कति पटक नेपाल–भारत ओहोरदोहोर गर्छ भन्ने तय गरिएको छैन । सञ्चालन हुने रेल मध्यम दूरीका लागि उपयुक्त मानिन्छ । यसअघि प्रतिघण्टा ११० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने भनिए पनि विभिन्न भौतिक अवरोधका कारण तोकिएको दूरी कायम गर्न नसक्ने रेलवे कम्पनीका महाप्रबन्धक झाको भनाइ छ ।

अनधिकृत रूपमा खोलिएको बाटोहरूका कारण गति सीमित राख्नु पर्ने र अवरोधकै कारण रेलको गति प्रतिघण्टा ६०/६५ किलोमिटर हुने झाले जनाएका छन् । उक्त रेलको डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुने र त्यसबाट रेलमा हुने ट्रयाक्शन मोटर चल्छ । यो रेल अगाडि र पछाडि दुईतिर बाटै गुडाउन मिल्ने भएकोले फर्काउनुपर्ने झन्झट नहुने प्राविधिकहरूले जनाएका छन् ।

यस अन्तर्देशीय रेल सञ्जालले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा योगदान पु¥याउने झाको दाबी छ । उनले भारतसँग नेपालको सांस्कृतिक, धार्मिक र पारिवारिक सम्बन्ध प्रगाढ बन्ने विश्वास समेत गरेका छन् ।
रेलले दुई देशलाई जनस्तरबाट जोड्ने र धनुषा जिल्लाकै विकट ठाउँका मानिसलाई प्रदेशको राजधानीसम्म पु¥याउन पनि यसको महत्त्वपूर्ण हुनेछ ।

विश्व सम्पदा सूचीमा रहेको जनकपुरधाममा भारतीय पर्यटन वृद्धिका लागि पनि यस रेल सञ्जालले आवश्यक भूमिका निर्वाह गर्नेछ । यसैगरी नेपाल र भारतबीचको व्यापार तथा व्यवसाय बिस्तारमा योगदान पु¥याउने जनाइएको छ ।
रेलवे सेवाको माध्यमबाट तीर्थयात्रीलाई जनकपुरधामको सहज आवतजावत मात्र नभई देशको पर्यटन प्रवद्र्दनमा सहयोग पुर्याउने छ । यस्तै सातामा तीन दिन जनकपुरबाट पोखरासम्मको फ्लाइट तय भएकाले जयनगरदेखि जनकपुर हुँदै पोखरा जाने यात्रुहरू आकर्षित हुने भएका छन् ।

सञ्चालनमा आउने रेलमा कुल पाँच वटा डिब्बा छन् । तीमध्ये एक वातानुकूलित हुने छ र जसमा एक पटकमा ५८ जनासम्म यात्रु अटाउँछन् । तीबाहेक अन्य चार वटा सामान्य डिब्बामा १३ सय जना यात्रु अटाउने छन् । सबै जनाका लागि बस्ने ठाउँ उपलब्ध नहने र उभिनेसहित करिब १३ सय जना जना अटाउने झाले जनाएका छन् ।

सञ्चालनपछि अवरोधको सम्भाव्यता र त्यसको समाधान पहिचानका लागि फागुनदेखि परीक्षणका लागि यात्रु नराखी ‘ड्राइ रन’ गराइएको थियो । २०७७ सालको असोज महिनामा नेपाल भित्रिएको रेललाई समय त्रिपाल ओढाएर राखिएको थियो । एक पटक ठूलो संख्यामा क्लीपहरू चोरी भएको विवरणहरू सार्वजनिक भएका थिए । रेल जनशक्ति अभाव एवं अन्य प्राविधिक समस्याका कारण सञ्चालनमा आएको थिएन ।

जनशक्ति व्यवस्थापनका लागि नेपालले भारतको कोनकन रेलवेज कर्पोरेसन केआरसीएलसँग सम्झौता गरेको हो । सन् २०२१ को जुन महिनामा उक्त सेवा सम्झौता भए पनि कार्यान्वयन हुन सकेको थिएन । हाल केआरसीएलले २६ जना जनशक्ति नेपाललाई उपलब्ध गराएको रेल विभागले जनाएको छ । त्यस्तै थप करिब ५५ जना ज्यालादारी कर्मचारी नेपाल रेलवे कम्पनीले खटाएका छ ।

प्राविधिक कर्मचारी एक वर्षसम्म उपलब्ध गराउने र रेल सञ्चालनमा सहयोग पु¥याउने सम्झौता भएको विभागले जनाएको छ । यस्तै नेपालले पनि आगामी दिनमा आवश्यक थप जनशक्ति कसरी तयार पार्ने भन्ने विषयमा योजनाहरू बनाइरहेको छ । रेलको प्राविधिक सहकार्यका बारे भारत सरकारसँग छलफल पनि हुने भएको छ ।

आवश्यक जनशक्तिलाई तालिमदेखि प्रविधिसम्बन्धी उच्च शिक्षामा भारतसँग सहयोग आदानप्रदान गर्ने कार्यक्रम रहेको र नेपालको कम्पनीले पनि आफ्नै स्रोत प्रयोग गरी तालिम दिने जनाइएको छ । रेल बिक्रेता वा भाडामा दिने कम्पनीले खरिदकर्तालाई रेलसहित सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पठाउनेसँगै रेलको सञ्चालनका बेला गर्नुपर्ने मर्मतसम्भारको जिम्मेवारी पनि बिक्रेताकै रहने भएको छ ।

रेल सञ्चालनका लागि उचित कानुन पनि बनिसकेको छैन । संसद्मा कानुनको मस्यौदा पेस गरिएको छ तर तत्कालका लागि अध्यादेशमार्फत रेल सञ्चालन हुनेछ । गत पुसमा सरकारले रेलसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो । अहिले रेल सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन् । साथै रेलसम्बन्धी अन्य सुरक्षाका लागि छुट्टै सुरक्षा व्यवस्थापन गर्ने तयारी भइरहेको रेल विभागले जनाएको छ । –बीबीसी

प्रतिक्रिया