कांग्रेसले निर्णय गरेसँगै अब गठबन्धन हुने पक्का भयो : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताए ।
उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडी बढाउन आफुहरु प्रष्ट रहेको बताए । उनले गठबन्धनको सम्बन्धमा कांग्रेस केन्द्रीय कमिटी बैठकले निर्णय गरेसँगै अब गठबन्धन हुने कि नहुने भन्ने दुविधा नरहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताए । उनले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका छौँ । अब निर्वाचन अगाडी छ । र गठबन्धन चाहीँ हामी गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौँ । नेपाली कांग्रेसको कार्यसमितीले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिब, करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौँ । र आउने निर्वाचनलाई हामीले शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई, राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्नेतिर नै हाम्रो छ ।’
अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन् । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उनले बताए । उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताए । उनले भने, ‘अहिले तरलताको अभाव, विज्ञान, प्रविधिको प्रयोग गरेर हुने गरेका थुप्रैखालका विचलनहरु त्यसको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थितिमा आएको हेरफेरको प्रभाव, हाम्रै नीतिमा कमि, कमजोरीका कारणले पैदा भएका समस्याको प्रभाव, यो सबै प्रभावहरुको गम्भिर आत्मसमिक्षा गरेर नेपालको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट जोगाउने दायित्व हामी राजनीतिक नेतृत्व र सबै नीजि, सार्वजनिक क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको, संघसंस्थाहरुको दायित्व हुन आएको छ ।’
उनले उपाय निकालेर र स्थितिलाई हामी सम्हाल्ने समेत बताए । उनले भने, ‘यस विषयमा हामीले गम्भिर चर्चा गठबन्धन भित्र पनि गर्यौँ । मैले प्रधानमन्त्रीजीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समिक्षा गर्न जरुरी छ र एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जान बाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमती पनि भएको छ । र हामी छिट्टै त्यस्तो बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । गम्भिर रुपले छलफल गरिएन र यसलाई नियन्त्रण गर्ने उपायहरु अवलम्वन गरिएन भने भोली अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने साँचो कुरा हो । र राजनीतिक गठबन्धनको तर्फबाट मैले भन्नुपर्दा त्यो समस्याको समाधान गर्ने पहल सुरु भइसकेको छ । उपाय निकाल्छौँ र यो स्थितिलाई हामी सम्हाल्छौँ ।’
उनले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भुमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गरे । पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको उनले बताए ।

प्रतिक्रिया