मंगलबार, जेठ ८, २०८१

पोखराको पहिलो अस्पताल

सुनील उलक २०७८ चैत १९ गते ११:३३

वि.सं. २००२ सालतिर पोखरामा औलो तथा झाडापखालाको प्रकोप निकै बढेको थियो । १९९० तिर खुलेको विन्द्यवासिनी मन्दिरनजिकैको वैद्यखानाले वैद्य औषधिबाट उपचार गरिँदै थियो । साथै तेर्सापट्टिका वैद्यहरुले पनि उपचार गरिरहेका थिए । तर रोग अझ व्यापक भएपछि राणा बडाहाकिम धनशमशेरले गाँउघरमा पाइने जडीबुटीबाट गरिने होमियोप्याथिकको वैद्य उपचारभन्दा भरपर्दो र विश्वासिलो भन्दै आधुनिक उपचार पद्धति एलोपेथिक उपचार गर्न वैद्यखानाको सुरुवात गरे ।

रानीपौवा महेन्द्र बटालियन रहेको अहिलेको आर्मी ब्यारेक रहेको स्थानमा मिलिसिया अड्डा थियो । सुरुमा सैनिकहरु मिलिसिया नै भनिन्थ्यो । त्यही खरको झुप्रोमा पोखराको पहिलो अस्पताल खोलिएको थियो । यस अस्पताल (वैद्यखाना) मा कम्पाउन्डरका रुपमा गणेशलाल रञ्जित पोखरा आएका थिए । सेनामा जागिरे गणेशलाल केही महिनाको तालिमपछि पोखरामा आइपुगेका थिए । पोखरामा कोही विज्ञ नभएको समय उनी नै पोखराको पहिलो डाक्टर बनेका थिए । उनले एलोपेथिक दवाइबाट उपचार गर्दथे । यस अस्पतालको सुरुवातको केही समयपछि विसं २००४ सालमा काठमाडौंका दयावीरसिंह कंसाकारले पोखरामा पनि परोपकार औषधालयको शाखा खोलेका थिए ।

वि.सं. २००६ सालको पुसतिरको कुरा त्यतिबेला औषधि विभागमा डाइरेक्टर थिए मेजर जनरल सुरशमशेर जंगबहादुर राणा । यसै बेला अमेरिकास्थित ‘सिकागो नेचुरल हिस्ट्री म्युजियम’ का तर्फबाट नेपालमा डा. कार्ल ई टेलर आइपुगेका थिए । नौतनवा हुँदै नेपाल पसेका उनी केही समय पाल्पाको साइनिङ हस्पिटलमा सेवा गरे । तीन महिनाको नेपाल बसाइमा उनले पाल्पापछि रिडी हुँदै बलेवा बागलुङ हुँदै जोमसोमसम्म पुगे भने त्यसपछि पोखरा आइपुगेका थिए ।

पोखरामा आइपुग्दा उनले पोखरामा अस्पतालको रुपमा रहेको चित्रमा देखाइएको साधारण खरको घरमा एक कम्पाउन्डरले सेवा गरिरहेको भेटे । केवल दुई महिनाको साधारण तालिम प्राप्त गरेका व्यक्ति नै अस्पतालका प्रमुख थिए । पोखराको केही समय बसाइँका आधारमा डा. कार्ल ई टेलरले मेडिकल सर्भे अफ दी कालिगण्डकी एन्ड पोखरा भ्याली भनेर लेख नै तयार पारेका थिए । करिब तीन महिनाको नेपाल बसाइँमा डा. कार्ल ई टेलरले ८६६ बिरामीको उपचार गरेका थिए ।

तस्बिरमा देखिएका तथा कार्ल ई टेलरले भेटेका कम्पाउन्डर नै स्व. गणेशलाल रञ्जित हुनुहुन्थ्यो । तस्बिरमा अस्पताल (वैद्यखाना) अगाडि उभिनु भएको उनी नै हुन् । यो अस्पताल हालको शोभाभगवतीको मन्दिरभन्दा उत्तर-पूर्वमा रहेको थियो । यो अस्पतालको पश्चिममा आकाशवाणी अड्डा खुलेको थियो । जसलाई पछि दूरसञ्चार भनियो र महेन्द्रपुल हुलाकसँगै स्थापना गरियो । विस्तारका क्रममा दूरसञ्चारलाई स्थानको अभावले फेरि रानीपौवामा दूरसञ्चारको कार्यालय राखियो ।

यहाँ प्रसंग खरको झुप्रोको रुपमा रहेको अस्पतालसँगै पूर्वतर्फ देखिएको पक्की घरको गर्न चाहन्छु । यो घरमा के थियो भन्ने जानकारी बटुल्न रानीपौवा पुग्दा हाल रहेका वयोवृद्धहरुबाट पनि कुनै जानकारी पाउन सकिनँ । तर मेरो अनुमानमा यो घर नै वास्तवमा रानीपौवा हुनुपर्छ । यो मेरो अनुमान मात्र हो । पक्की ढुंगाको छानो भएको घर व्यक्तिगत हुन सक्दैन भन्ने लाग्छ ।

No description available.

राजा रणबहादुर शाहकी रानीले पोखरा आगमनको समय यस स्थानमा पौवा बनाइदिएको हुँदा नै यो ठाँउको नाम रानीपौवा रहन गएको हो । अहिले रानीपौवाको कुनै निशानी पनि बाँकी भेटिँदैन । तर नाम भने अझै पनि प्रख्यात नै छ ।

अहिले रानीपौवामा वास्तविक रानीले बनाइदिएको पौवाको बारेमा जानकारी राख्ने व्यक्तिहरु नै भेट्न सकिएन । पौवा भएको भन्ने जानकारी केहीलाई भए पनि पौवाको बारेमा खासै विस्तृत जानकारी उपलब्ध गराउन सक्ने भने कोही भेटिएन । तपाईंहरुले यो पौवा बारेमा केही जानकारी सुन्नुभएको छ भने कमेन्टमा लेख्नु भई सहयोग गरिदिनुहोला ।

कार्ल ई टेलर फर्किएको केही समयपछि कान्छी डाक्टर तथा ठूली डाक्टरको समूहको पोखरा आगमन भएको थियो । उनीहरुको प्रयासले नै साइनिङ हस्पिटलको जन्म भएको थियो । यससम्बन्धी सम्पूर्ण जानकारी डेभिड हकरले लेखेको ‘कान्छी डाक्टर रुथ वाट्सन’ नामक कान्छी डाक्टरको जीवनीको पुस्तकमा लेखिएको छ ।

युनिभर्सिटी अफ वैक्सिन-मिलवाउकीको संग्रहमा रहेका कार्ल ई टेलरको पोखरा बसाइँमा खिचेका तस्विरहरु मेरो संग्रहमा छन् ।

प्रतिक्रिया