मंगलबार, जेठ ८, २०८१

पत्ता लाग्यो मानव जिनोमको हरेक अंश !

नेपालखोज २०७८ चैत १९ गते १९:१७

काठमाडौं । वैज्ञानिकहरुले मानव जिनोमको पहिलो पूर्ण सिक्वेन्स बनाउन सफलता प्राप्त गरेका छन् । अब संसारका आठ अर्ब मानिसको जेनेटिक (अनुवंशिक) भिन्नता तथा म्युटेसन (उत्परिवर्तन) का कारण हुने बिमार पत्ता लगाउन सहज हुनेछ । कसको शरीर कस्तो छ र त्यसले कसरी काम गर्छ भन्ने कुरा जिनोमबाटै तय हुन्छ । यदि यसमा हल्का परिवर्तन मात्र आयो भने कैंयन् जन्मजात समस्या सिर्जना हुनसक्छ ।

यो सफलताभन्दा पहिले सन २००३ मा वैज्ञानिकहरुले ह्युमन जिनोम प्रोजेक्टअन्तर्गत मानव जिनोमको पूरा सिक्वेन्स तयार गरेको घोषणा गरेका थिए । यद्यपि त्यतिबेला उनीहरुले जिनोमको करिब ८ प्रतिशत भाग पढ्न सकेका थिएनन् । ताजा शोध तथा २००३ को ह्युमन जिनोम प्रोजेक्टमा काम गरिसकेका युनिभर्सिटी अफ वसिंटनका वैज्ञानिक इवान आइसलरका अनुसार- ‘केही जिन जसले हामीलाई खास किसिमले मानव बनाउन भूमिका खेल्छन् ती जिनोमको डार्क म्याटर गायब थियो । हामीलाई करिब २० वर्ष त लाग्यो तर हामीले त्यसको पत्तो लगाएरै छाड्यौं ।’ यो शोध २०२१ मै पूरा भए पनि पियर रिभ्यु (विद्वत् समीक्षा) पछि ‘साइन्स’ जर्नल को अप्रिल २०२२ को अंकमा प्रकाशित गरिएको छ ।

के फाइदा हुन्छ ?
वैज्ञानिकहरुका अनुसार जिनोमका बारेमा पूर्ण जानकारी भए मानवीय उद्भव तथा जीव विज्ञानलाई बुझ्न मद्दत मिल्छ । यसका अतिरिक्त बढ्दो उमेर, नर्वस सिस्टम, नशाको प्रणाली, क्यान्सर तथा हृदयसम्बन्धी बिमारको आकलनमा समेत थप सहयोग मिल्छ । यो प्रोजेक्टमा सामेल वैज्ञानिक केरन मिगाका अनुसार- ‘हामी मानिसहरुको बिमारलाई अझ राम्रोसँग बुझ्ने अवसरतर्फ अगाडि बढिरहेका छौं ।’

यो रिसर्चका लागि फन्ड जुटाउने अमेरिकाको सरकारी संस्था- नेसनल ह्युमन जिनोम रिसर्च इन्स्टिट्युट (एनएचजीआरआई) का निर्देशक एरिक ग्रिनले यसलाई ‘अद्वितीय वैज्ञानिक उपलब्धि’ बताएका छन् । उनले भनेका छन्, ‘एउटा सही र पूर्ण मानव जिनोम सिक्वेन्सले हाम्रो डीएनएको ब्ल्युप्रिन्टलाई एउटा व्यापक दृष्टिकोण दिनेछ । यो आधारभूत जानकारीले मानव जिनोमको हरेक क्रियाशील अन्तर-कुन्तर बुझ्ने प्रयासलाई मद्दत पुर्याउनेछ जसबाट मानवीय बिमारमा भइरहेको जेनेटिक शोधहरु थप प्रभावकारी हुनेछन् ।’

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया