नेपालमा केही रेलमार्ग निर्माणाधीन, अधिकांश भने अध्ययनमै सीमित
काठमाडौं । भारतको आर्थिक र प्राविधिक सहयोगमा नेपालका विभिन्न स्थानमा अन्तरदेशीय रेलमार्ग निर्माण हुने भएको छ । त्यसमध्ये केही निर्माणाधीन छन् भने अधिकांशको अध्ययन मात्र भएको रेल विभागले जनाएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शनिवार जयनगर–कुर्था रेलसेवाको भने उद्घाटन गर्दैछन् । सन् २०१० मा भएको सम्झौता अनुसार नेपाल र भारत भारतीय सीमावर्ती बजारलाई नेपालका दक्षिणी सहरहरूसँग रेलका माध्यमबाट जोड्न सहमत भएका थिए ।
नेपाल–भारतको सम्झौताअनुसार न्यू जलपाइगुडी–काँकडभिट्टा ४६ किलोमिटर, बहनाह–कटहरी (जोगबनी–विराटनगर) १८ किलोमिटर, जयनगर–जनकपुर–बर्दिवास ६९ किलोमिटर, नौतनवा–भैरहवा १२ किलोमिटर र रुपेडिया–नेपालगञ्ज करिब १५ किलोमिटर गरी पाँचवटा रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेको थियो ।
त्यसबाहेक रक्सौल–काठमाडौं रेलमार्गको काम पनि भारतीय सहयोगमै अघि बढेको विभागले जनाएको छ । प्रारम्भिक अध्ययन सकिएको रक्सौल–काठमाडौं रेलमार्गको कुल लम्बाइ १३६ किलोमिटर हुने अनुमान गरिएको छ । तर विस्तृत अध्ययनपछि मात्र त्यसको यकिन दूरी तय हुने अधिकारीहरूले बताएका छन्।
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने पूर्वाधार निर्माणको गति निकै सुस्त हुने गरेको कतिपय नेपाली विज्ञहरूले बताउने गरेका छन्। अन्तरदेशीय रेलमार्ग निर्माणमा पनि ढिलाइ भएको कतिपयको धारणका छ । तर रेल विभागका प्रवक्ता चित्रकारका भनाइमा हाल दुईवटा अन्तरदेशीय रेलमार्गमा निर्माण कार्य जारी छ भने अन्यको पनि प्राविधिक अध्ययनको काम सकिएको छ ।
पाँचवटा क्षेत्रमा रेलमार्ग विस्तार गर्ने सम्झौता अनुसार जोगबनी–विराटनगर र जयनगर–जनकपुर–बर्दिवास गरी दुईवटामा निर्माण भइरहेको छ । त्यस बाहेकका रेलमार्गको अध्ययन सकिएकाले चाँडै ती क्षेत्रमा पनि निर्माण हुने उनको विश्वास छ । त्यस बाहेक रक्सौल–काठमाडौं रेलमार्गको पनि पहिलो चरणको प्रारम्भिक अध्ययन सकिएको चित्रकार बताउँछन्।
प्रतिक्रिया