बिहीबार, जेठ ३, २०८१

ईश्वरका छोरा-नाति भनेर पनि हुँदो रहेनछ…

सुनील सापकोटा २०७८ चैत २० गते ९:०१

हाम्रो आर्य संस्कृतिको शिखर पुरुष श्रीराम चैत्र शुक्ल नवमी तिथिमा हजारौं वर्षअघि जन्मिनुभएकाले भोलि उहाँको जन्म दिन मनाइँदै छ । उहाँ मिथक हो वा इतिहास त्यो त मलाई थाहा भएन । तर हजारौं सालदेखि हिन्दु धर्म, संस्कृति एवं परम्पराको उहाँ पहिलो एउटा यस्तो व्यक्ति हो जसलाई हाम्रा पुर्खाले एउटा मर्यादा पुरुषोत्तमको रुपमा मान्दै आए ।

हाम्रो धर्मशास्त्रहरु वा रामायणको अध्ययन गर्दा राम एउटा प्रखर योद्धा, कुशल शासक, एक पत्नीनिष्ठ, सुन्दर र बौद्धिक व्यक्तित्वका धनीका रुपमा पाइन्छ । जुन सामाजिक मूल्यमा र मान्यताहरुमा उहाँले आफ्नो काम र कर्तव्यको पालन गर्नुभयो त्यसको गुणगान आज पनि गरिँदै छ ।

हुन त त्यो कालमा उहाँले निर्वाह गरेको केही काम र कर्तव्यका भूमिकाहरुको अहिले केही मानिसहरुले आलोचना न गरेका पनि होइनन् । जस्तै: सुपर्णखाको अपमान, सीताको अग्नि परीक्षा र परित्याग, आफ्नो व्यक्तिगत स्वार्थका लागि बाँदरहरुको राजा बालीको छलद्वारा हत्या आदि । हुन् त उहाँलाई एउटा ईश्वरको रुपमा हेरेको हुँदा यस्तो लागेको होला पनि । तर उहाँलाई एउटा राजा र मनुष्यको रुपमा मात्र सम्झिने हो भने उहाँले त्यो काल खण्डमा निर्वाह गरेका भूमिकाहरु समयसापेक्ष थियो पनि होला ।

हामी हिन्दूहरुको एउटा कमजोरी के छ भने हामी शिखर पुरुषहरुलाई देवत्वकरण गरेर हेर्छौं । सायद उहाँको आलोचना गर्नेहरुलाई त्यस्तो लागेको होला भन्ने मलाई लाग्छ । उहाँले शासन गरेको राज्य अयोध्या, त्यो बेलाको भारत वर्षको अरु साना-साना राज्यहरुको प्रमुख शासन केन्द्र पनि थियो ।

अयोध्या अर्थात् जित्न न सकिने स्थान । तर पछि उहाँको वंशले अयोध्यालाई सम्हालेर राज्य गर्न सकेनन् । उहाँको वंशमा अग्निवर्णजस्ता कामुक राजा भएपछि सूर्य वंशको पनि पतन भयो ।

त्यस्तै भगवान् श्रीकृष्णको यदुवंश पनि श्रीकृष्ण छँदै आपसमा युद्ध गरेर समाप्त भएका थिए । त्यो बेला श्रीकृष्णको कुरा उनका छोरानातिहरुले सुनेनन् । ईश्वरका छोरा-नाति भनेर पनि हुँदो रहेनछ । समय र नियतिको नियम आफ्नै हुन्छ ।

प्रतिक्रिया