मंगलबार, जेठ ८, २०८१

कान्ति अस्पतालमा हेलचेक्य्राइँ, समयमा उपचार पाउनै सकस

अस्पतालको दाबी- ‘हाम्रो सेवा कुनै पनि निजी अस्पतालभन्दा कमी छैन । शुल्क त धेरै नै कम छ ।’

पार्वती भण्डारी २०७८ चैत २० गते १४:००

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल दैनिकजसो धेरै बिरामी बालबालिका अनि कुरुवाको भिड हुने ठाउँ हो । अस्पतालमा धेरै बाबुआमा आफ्ना साना छोराछोरी च्यापेर उपचारका लागि आउने गर्छन् । काठमाडौं मात्रै होइन, देशका विभिन्न ठाउँबाट यस अस्पतालमा अभिभावकहरू बिरामी बालबालिका बोकेर उपचार गर्न आउँछन् । तर देशकै नामी अस्पताल भए पनि जुन किसिमले उपचार हुनुपर्थ्यो, त्यो नभएको सर्वसाधारणको गुनासो छ ।

कान्तिबाहेक अरू ठाउँका सरकारी अस्पतालको अवस्था पनि उस्तै छ । काठमाडौंबाहिरका नामी अस्पतालमा समेत लाखौं रुपैयाँ खर्च गर्दा पनि बच्चा निको नभएपछि अभिभावक छोराछोरी बोकेर अन्तिम उपाय खोज्दै कान्तिमा आउने गर्छन् । तर सिकिस्त अवस्थाको आफ्नो बच्चालाई चिकित्सकसम्म पुर्‍याउन भने पालो पाउनै गाह्रो छ ।

आफ्ना छोराछोरीले प्रभावकारी उपचार नपाएको केही अभिभावकको गुनासो छ । यहाँ बिमारी बालबालिका बोकेर टाढा-टाढादेखि मानिसहरू आउने गर्छन् । अन्तिम तथा प्रभावकारी उपचार गर्न जोकोहीले रोज्ने अस्पतालमा कान्ति परिचित नाम हो । तर बाहिरका अस्पतालमा सास्ती भोगेर आउँदा यहाँ पनि उस्तै अवस्था भोग्नुपर्दा केही अभिभावकलाई पीडामाथि पीडा थपिने गरेको छ ।

अर्कातिर कान्ति बालमा सस्तोमै उपचार हुन्छ कि भनेर निम्नवर्गका मानिस बालबालिका लिएर आउने गर्छन् । तर सस्तो त के राम्रो उपचार पनि नहुने गरेको केही अभिभावकको गुनासो छ । बुटवलदेखि छोराको उपचार गर्न आएका एक दम्पतीको गुनासो पनि यस्तै छ ।

छोरा लिएर काठमाडौं आएको एक सातापछि मात्रै बल्ल सहज किसिमको उपचार पाएको रामअवतार यादव दम्पतीको गुनासो छ । अस्पतालमा बच्चाको स्वास्थ्य परीक्षण नभएको भने होइन, तर बिरामीको एक सातामा डाक्टरले दुईपटक मात्र जाँच गर्दा यादव दम्पतीलाई चित्त बुझेको छैन ।

यादव दम्पतीका काठमाडौंमा आफन्त छैनन् । होटेलमा बस्नै महँगो छ । बस्न र राम्रोसँग खाना त के, उनीहरूसँग औषधि किन्ने पैसा पनि छैन । यो अवस्थामा धेरै लामो समय काठमाडौं बस्न गाह्रो छ । अस्पतालको पेटीमा बसेर रात बिताइरहेका रामअवतार यादवको गुनासो छ, ‘होटेलमा बस्न दैनिक एक हजार रुपैयाँ लाग्छ, औषधि किन्न पैसै छैन, त्यसैले अस्पतालको पेटीमै बस्नुपर्ने बाध्यता छ ।’

सामान्य म्याट्रेसमा बिरामी बालक छोरालाई चिसो भुइँमा सुताउँदाको तीतो अनुभव यादव सुनाउँछन् । कान्ति बालमा निजी अस्पतालभन्दा सस्तोमा उपचार हुने गरेको छ । तर गरिब परिवारले कान्ति बालको उपचार सस्तो भएको भन्ने कुरालाई स्वीकार गर्दैदन् । गरिबका लागि अझ सस्तो उपचार सेवाको व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ । यादव भन्छन्, ‘उपचार गर्ने पैसा पनि पुगेको छैन । डाक्टरले बच्चाको अप्रेसन गर्नुपर्छ, अप्रेसनका लागि धरौटीसमेत राख्नुपर्छ भन्छ, औषधि किन्ने त पैसा छैन, कसरी धरौटी राख्ने र ?’

यादवको बच्चालाई दिसा गर्नै समस्या हुने गर्छ । यो समस्या हटाउन अप्रेसन गर्नुपर्ने भएको छ । खर्च जुटाउनै समस्या छ । अस्पतालकौ क्यान्टिनमा खाना खानुपर्ने अवस्था छ । यो पनि समस्यै छ ।

यस्तै विष्णु पाण्डे आफ्नो छोराको उपचार गर्न सतुंगलको मच्छेगाउँबाट कान्ति बाल अस्पताल आएकी छन् । बच्चालाई बान्ता आउने समस्या छ । यस्तै रातमा ज्वरो आउने गर्छ । अन्य अस्पतालमा पनि उपचार गरिन्, तर समस्या उस्तै भएपछि उनी कान्ति आइपुगेकी हुन् । उनी भन्छिन्, ‘सरकारी अस्पतालमा पनि झण्डै निजी अस्पतालको बराबर खर्च हुने रहेछ ।’ सरकारी अस्पताल नाम मात्रैको भएको र केही सुविधा पनि नभएको पाण्डे गुनासो गर्छिन् ।

सरकारी अस्पताल कान्तिमा पनि निजी अस्पतालजत्तिकै खर्च लाग्ने गरेको केही अभिभावकको गुनासो छ । तर निजी अस्पतालमा उपचार गर्दाको अनुभव सर्वसाधारणलाई नभएर महँगो भनेको जनाएको अस्पताल स्रोत दाबी गर्छ । कान्ति बालमा सस्तोमा उपचार सेवा दिइएको कुरा सत्य हो । तर सर्वसाधारण तथा निम्न वर्गका लागि अझ सहुलियतमा उपचार गर्ने पद्धतिको विकास नगरिँदा भने धेरैजसो बालबालिका रोग पालेर बस्न बाध्य भएका उदाहरण पनि देखिएका छन् ।

‘कति मानिसले त बिरामी छोराछोरी घरमै पालेर बसेका छन्, निजी अस्पताल जानैपर्ने बाध्यता छ, तर खर्च जुटाउनै समस्या हुन्छ, ऋणले टुप्पी बिक्ने गरेको छ । राम्रो हो भन्ने लाग्छ, के गर्ने र ! अधिकांश नागरिकको अवस्था गरिबीमा रुमलिएको छ । उपचारका लागि थोरै पैसा पनि खर्च गर्न सक्दैनन्,’ बिरामी बालककी आमा विष्णुको गुनासो छ ।

बिरामी बालबालिकाका आफन्तले कान्ति बालमा बढी लापरबाहीसमेत हुने गरेको गुनासो गरेका छन् । दक्ष चिकित्सक हँुदा पनि समयमा उपचार नहुने गरेको छ । हरेक कुरा निःशुल्क हुनुपर्ने ठाउँमा झन् बढी पैसा लिएको बिरामीका कुरुवाको गुनासो छ ।

बिरामी बालबालिका फुल्याउनका लागि खेलौना महत्त्वपूर्ण हो । तर बहिरी पसलमा १५० रुपैयाँमा किन्ने गरेको खेलौनाको मूल्य अस्पतालभित्र भने तीन सय रुपैयाँ पर्ने गरेको छ । सामान्य खेलौनाको मूल्यमा यति फरक पर्छ भने, अस्पतालमा हुने सेवा-सुविधा कतिसम्म महँगो छ भन्ने विचार गर्नुपर्ने सर्वसाधारणको बुझाइ छ । कतिपय बिरामीका आफन्तलाई अस्पताल सेवा होइन, व्यापार गर्ने ठाउँ भएको महसुस भएको छ । यस्तै अस्पतालमा मानवताको भावनासमेत नपाइएको सर्वसाधारणको गुनासो छ ।

कुनै बालबालिकाले सामान्य उपचार खर्च पनि नपाएर वर्षौ रोग पाल्नुपर्ने अवस्था छ । आफ्ना रोगी छोराछोरीका लागि सामान्य औषधि किन्न नसक्ने बाबुआमा पनि छन् । यस्तै टाढादेखि राजधानीका सरकारी अस्पतालमा उपचार गरे बिरामी निको हुन्छन् भनेर आउनेहरू पनि छन् ।

बाराका अर्का अभिभावक डेढ महिनाको बच्चा लिएर उपचारका लागि कान्ति बाल अस्पताल आए । बच्चालाई अहिले समस्या छ, तर एक महिनापछि उपचार गराउन आउनू भन्ने हेल्चेक्र्याइँ हो कि भन्ने उनलाई लागेको छ । उनी भन्छन्, ‘यहाँ कुनै कुराको सुविधा छैन् । डाक्टर राम्रोसँग कुरा गर्न पनि खोज्दैनन्, अनि कसरी बिरामीको उपचार राम्रो गर्छन् भनेर विश्वास गर्ने ?’

अस्पतालले लिने शुल्क समितिले निर्धारण गर्छ : पूर्वनिर्देशक प्रा.डा. अजित रायमाझी
कान्ति बाल अस्पतालमा बिरामीलाई सेवा, अध्ययन, अनुसन्धानजस्ता महत्त्वपूर्ण काम हुने गर्छ । बिरामीलाई लिइने शुल्क कान्ति बाल अस्पताल विकास समितिले निर्धारण गर्छ । नेपाल सरकारले सरकारी अस्पतालमा लिने शुल्कको निर्धारण गर्ने गर्छ । यही आधारमा अन्य अस्पतालको पनि सेवा शुल्क निर्धारण हुन्छ । प्रा.डा. अजित रायमाझी निजी अस्पतालभन्दा कान्ति बालमा शुल्क धेरै सस्तो भएको दाबी गर्छन् । अस्पतालमा आएका बिरामीलाई के रोग भएको हो, राम्रोसँग अध्ययन अनुसन्धान गरेर सर्वसुलभ रूपमा उपचार गर्ने गरिएको डा. रायमाझीको दाबी छ ।

गरिब, निमुखा जनताका छोराछोरीलले अस्पताल आइसकेपछि फर्केर जानु नपरोस् भनेर अध्ययन-अनुसन्धान गरेर सेवा दिने गरेको अस्पतालका चिकित्सक तथा प्रशासनको दाबी छ । अस्पतालमा जटिल रोगको उपचार गर्न विद्यार्थी, चिकित्सक र कन्सल्टेन्टसमेतको सहयोग लिने गरिन्छ । उपचार गर्न बिरामीलाई बाहिर लानु नपरोस् र आर्थिक भार कम होस् भन्नेमा अस्पताल सचेत रहेको रायमाझी दाबी गर्छन् ।

निजी अस्पताल जस्तो महँगो सेवा कान्तिमा कुनै पनि नभएको अस्पतालको दाबी छ । एउटा उदाहरण, आईसीयूमा बिरामी राखेको कान्ति अस्पतालमा १५ सय रुपैयाँ पर्छ भने निजीमा त्यही सुविधा १५ हजारसम्म पर्ने गरेको अस्पताल स्रोत दाबी गर्छ । केही सेवाग्राही कान्तिबालमा महँगो उपचार भन्छन् । तर निजी अस्पतालले दिने सेवा-सुविधाको अनुभव नभएर उनीहरूले त्यसो भनेको हुनसक्ने अस्पतालले जनाएको छ ।

निजी अस्पतालको अनुभव नभएर सरकारी अस्पताल नै महँगो लागेको हुनसक्ने डा. रायमाझी बताउँछन् । चौबीस वर्षदेखि कान्ति बाल अस्पतालमा बिरामीको सेवा पुर्याइरहेका डा. रायमाझी भन्छन्, ‘यस अस्पतालले दिने सेवा कुनै पनि निजी अस्पतालभन्दा कमी छैन । शुल्क त धेरै नै कम छ ।’

अस्पतालको स्वीकारोक्ति- उपचारमा ढिलासुस्ती त भएकै हो
कान्ति बाल अस्पतालमा उपचारमा ढिलासुस्ती भएको र समयमा उपचार नपाउने गरिएको सर्वसाधारणको गुनासो छ । अस्पतालका जिम्मेवार व्यक्ति पनि ढिलासुस्तीका कारण बिरामी मर्कामा परेको गुनासोलाई सहर्ष स्वीकार गर्छन् । सर्वसाधारणले उपचारमा ढिलासुस्ती गर्ने गरेका छन् नि ? भन्ने जिज्ञासामा अस्पतालका पूर्वनिर्देशक डा. रायमाझी भन्छन्, ‘त्योचाहिँ हो, म यसलाई नकार्दिनँ ।’

यस अस्पतालमा सर्जरीको सेवा, आईसीयू चाहिने अवस्था, विभिन्न अनुसन्धानात्मक क्रियाकलाप जस्तो- सिटी स्क्यान, ईसीजीलगायतमा ढिलो हुने गर्छ । २५ वर्षअघि जुन दरबन्दी थियो, अहिले पनि त्यही भएको अवस्था छ । सरकारले जनसंख्या वृद्धिको अनुपातमा दरबन्दी बढाउन नसकेकाले भनेजति जनशक्ति छैन । जसको असर बिरामीमा पर्ने गरेको छ । सेवाग्राही बढ्नु र सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मी कम हुँदा बिरामीले समयमा उपचार गर्न नपाएको अवस्था भएको प्राध्यापक डा. रायमाझी स्वीकार्छन् ।

जनशक्ति अभावको साथै अस्पतालमा आवश्यक मात्रामा चाहिने सामानको खरिद प्रक्रिया लामो भएकाले पनि बिरामीको उपचारमा प्रभाव पर्ने गरेको छ । उपकरण बिग्रिएपछि तुरुन्तै बनाउने परिपाटी नहुनु र नयाँ चाहिएको सामान वा जनसंख्या वृद्धि अनुपातको सामान पनि तत्काल खरिद नगर्ने परिपाटी कान्ति बाल अस्पतालमा छ ।

कान्ति बालमा उपचार खर्च सस्तो भए पनि अझै गरिबमुखी उपचार सेवा नभएको सर्वसाधारणको गुनासो छ । अस्पतालले बिरामी बालबालिका र उनीहरूका अभिभावकको भावनामा ठेस नपुग्ने गरी उपचार सेवा दिनुपर्छ ।

यस्तै कस्तो आर्थिक अवस्थाका अभिभावक आफ्ना छोराछोरीको उपचार गर्न आएका छन् ? उनीहरूलाई उपचारमा सहयोगको खाँचो छ कि ? भन्नेतर्फ अस्पतालले प्रशासनले ध्यान दिनुपर्ने देखिन्छ । यस्तै अस्पतालमा सिकिस्त भएर आउने बालबालिकामाथि ढिलासुस्ती गर्नु भनेको ज्यानमाथिको खेलबाड हो । समयमै उपचार नपाउनु भनेको नागरिकको मौलिक हकको हनन् पनि हो ।

सरकारी अस्पताल भनेको सर्वसाधारण तथा गरिब-निमुखा परिवारका बिरामीको भावनाको कदर गर्ने हुनुपर्छ । २५ वर्षअघिको दरबन्दी प्रणाली सरकारले शीघ्र परिवर्तन गर्नुपर्ने देखिन्छ । जनसंख्या वृद्धि भएअनुसारै जनशक्ति राखे अनि चाहिएका उपकरण किन्न कुनै कन्जुस्याइँ नगरे सरकारी अस्पताल बिरामी बालबालिकाको लागि सञ्जीवनी बन्थ्यो कि ?

प्रतिक्रिया