बिहीबार, मंसिर २७, २०८१

तिम्रा एजेन्डा के हुन् ?

उत्तम पुडासैनी २०७८ चैत २१ गते ११:५३

स्थानीय निर्वाचनको चहल-पहल प्रारम्भ भएको छ । बितेका पाँच वर्षमा स्थानीय जनप्रतिनिधिले बिताएको विलासी जीवनशैली र आर्थिक रुपमा भएको निकै ठूलो चलखेलको प्रभाव हुनुपर्छ । स्थानीय निकायमा झन्डै एक घर एक उम्मेद्‌वारीको अवस्था सिर्जना भएको छ । यो अवस्था देशैभरि रहेको छ । उम्मेद्‌वार हुन आवश्यक न्यूनतम योग्यता के हो ? उम्मेद्‌वारका योजना र कार्यक्रम के हो ? उम्मेद्‌वारीको उद्देश्य के हो ? जस्ता विषयमा धेरै उम्मेद्‌वारहरु अनभिज्ञ छन् ।

पहिला जितेकाहरु फेरि पनि उही पदमा किन आकर्षित छन् ? हिजो के गरे र अब के गर्न बाँकी रहेकाले फेरि उही पदमा लालयित छन् ? यस्को स्पष्ट जवाफ उनीहरुसँग होला त ? जनता कसैको पनि बँधुवा मजदुर होइनन् । न त अबको युगमा दासता नै स्वीकार्य छ । धेरै उम्मेद्‌वारहरु म भए जित्छु भन्ने घमण्डमा छन् । जित्ने आधार के हो त ? स्वमूल्यांकनको सूचक के हुन् त ?

मेरा विचारहरु कसैप्रति लक्षित छैनन् । कसैलाई गिराउने र कसैलाई चढाउने नियतले कुनै कर्म मबाट हुने छैन । सामाजिक अभियानमा शक्ति हुन्छ । सामाजिक अभियन्तामा दृढ इच्छाशक्ति र उर्लंदो भरोसा हुन्छ । राजनीतिक अन्धतामा रुमलिएको हाम्रो जस्तो समाजमा अन्ततः राजनीतिक शक्तिको विकल्प खोज्न गाह्रो होला तर गलत राजनीतिक प्रयोग र प्रवृत्तिविरुद्ध सामाजिक अभियानको खबरदारी आमरुचिको विषय बन्नसक्छ । अबको युगमा सामाजिक अभियानले सञ्चय गरेको शक्तिको अवमूल्यन कसैबाट हुन्छ भने त्यसको नतिजा उनीहरुले बेहोर्नुपर्छ नै ।

पछिल्ला दिनमा सामाजिक क्षेत्रबाट स्थानीय निर्वाचनमा उम्मेद्‌वारीका लागि निकै ठूलो दबाब सिर्जना भइरहेको सन्दर्भलाई केलाउने हो भने यस्ले मतदातामा व्याप्त राजनीतिक पार्टीप्रतिको वितृष्णालाई उजागर गर्छ । संसारभर नै सामाजिक अभियान चुनावी दौडमा अग्रपंक्तिमा रहेको सत्यता साबित भइरहँदा हाम्रो सन्दर्भमा समेत सामाजिक अभियानको शक्तिलाई कम आँक्न नमिल्ला ।

सामाजिक अभियानका केही साझा सवालहरु छन् । प्रत्येक उम्मेद्‌वारले आफ्नो कार्ययोजना र कार्यक्रमका बारेमा स्पष्ट हुनु जरुरी छ । मेरो उम्मेद्‌वारी किन भन्ने सवालमा सामाजिक सन्जालमार्फत आफ्ना घोषणा जारी हुनुपर्छ । आफ्नो सम्पत्तिको विवरण अब हर उम्मेद्‌वारले प्रस्तुत गर्नुपर्छ । आजसम्म सामाजिक क्षेत्रमा र राजनीतिक क्षेत्रमा आफूले गरेको योगदानको दस्तावेज सार्वजनिक गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र बातावरणको क्षेत्रमा उम्मेद्‌वारहरुको ज्ञान र चासोका सवालहरु अब सार्वजनिक हुनुपर्छ । जीवनमा कतिवटा बिरुवा रोप्यौ र कतिवटा हुर्कायौ ? पर्यावरण संरक्षणमा तिम्रो योगदान के रह्यो ? सामाजिक क्षेत्रमा तिम्रो उपस्थिति कस्तो रह्यो ? यसको दस्ताबेज सार्वजनिक हुनुपर्छ ।

मेरो नगर-गाउँको कुनै पनि पदका लागि दाबी गर्ने उम्मेद्‌वार अबका दिनमा हचुवाका भरमा स्वीकार्य हुने छैनन् । तिम्रा एजेन्डा के हुन् ? सबैले थाहा पाउनुपर्छ ।

प्रतिक्रिया