नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने, पीएनजीको फिल्डिङ
काठमाडाैं । त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपाली टिमले एक खेलाडी परिवर्तन गरेको छ । जसमा मलेसियाविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीलाई सुरुवाती ११ मा राखिएको छ ।
नेपाल जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने पीएनजी एक खेलमा जित निकालेर फाइनलमा पुगेको हो । उसले मलेसियालाई एक खेलमा ८ विकेटले हराएको थियो ।
शृखंलाअन्तर्गत अन्तिम खेलमा नेपालले शनिबार भ्रमणकारी टोली मलेसियामाथि ८५ रनको जित निकाल्दा पीएनजीले फाइनलमा स्थान बनाएको थियो । शृखंलाको पहिलो र दोस्रो खेलमा नेपालले पीनजीलाई क्रमश १५ र ३७ रनले पराजित गरेको थियो भने एक दिवसीय शृखंलाको नतिजामा पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।
अंक तालिकामा नेपालले सबै खेल जित्दै ८ अंक बनायो । यता मलेसिया र पीएनजीले एक-एक खेल जित्दै दुई-दुई अंक बनाए । एक खेलमा पीएनजीले मलेसियालाई र अर्को खेलमा मलेसियाले पीएनजीलाई पराजित गर्यो । मलेसियालाई नेट रनरेटका आधारमा पछि पार्दै पीएनजी फाइनलमा स्थान बनाउन सफल भयो ।
त्रीवीको खेल मैदानमा उच्चस्कोरको रन बनिरहेको छ । नेपालले आफ्ना अन्तिम दुई खेलमा २ सय रनभन्दा बढी रन जोड्न सफल भएको थियो । नेपालका ब्याटर दीपेन्द्रसिंह उच्च फर्ममा छन् । अन्य खेलाडीको फर्म पनि राम्रो भएकाले नेपाल उपाधि घरमै राख्नेमा ढुक्क छ ।
घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने आइतबारको पत्रकार सम्मेलनमा सन्दीप लामिछानेले बताएका थिए । यस्तै पीएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना गर्ने बताएका थिए । उपाधि घरमै राख्ने सन्दीपको दाबी छ भने अगाडिका दुई खेलको बदला लिँदै उपाधि आफ्नै घर लैजाने असादको भनाई छ ।
प्रतिक्रिया