मंगलबार, जेठ ८, २०८१

थाइराइडको समस्या बढ्दै, शिशुदेखि वृद्धवृद्धासम्मै जोखिम

नेपालखोज २०७८ चैत २१ गते १२:४१

काठमाडाैं । पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो ।

विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् भन्छन्, थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेल ।

उनका अनुसार सबैभन्दा कमन थाइराइड भनेको हाइपो थाइराइडिजम हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरुको भनाइ छ । अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले मोटोउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्न सुझाव दिए ।

समयमा उपचार पाए निको हुने सम्भावना रहेको बताए । थाइराइडका कारण कपाल झर्ने, आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरुमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने पनि डा. पोखरेलको भनाइ छ ।

त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । उनले भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन सुझाए ।

पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्तमनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिनयुक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो । विशेषज्ञ डा. पोखरेलका अनुसार नेपालमा आयोडिनको मात्रा पनि बढी भइसकेको छ ।

उनले अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असरु पु¥याउने बताए । बच्चामा थाइराइड देखियो भने त्यसले बच्चाको वृद्धिविकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य कुरामा पनि असर गर्ने बताए ।

डा. पोखरेलले नेपालमा बच्चा जन्मिने बित्तिकै थाइराइड परीक्षण गराउने पद्धसतको विकास केही अस्पतालहरुमा शुरु भइसकेको र यो पद्धती सबै अस्पतालमा हुन आवश्यक रहेको बताए ।

डा. पोखरेलले भने, ‘हामी पहिला पनि क्रेटोनिजम भन्थ्यौँ । जस्तो सुस्त मनस्थितिको बच्चा । जुन आयोडिनको कमीले हुने गर्दथ्यो । नेपालमा यो पहिलादेखि नै थियो । अहिले त्यस्तो बिरामी धेरै कम देखिन्छ ।’

अहिले प्रत्येक प्रेग्नेन्सीले धेरैजसो थाइराइडको जाँच गराउँछन्, विदेशतिरको तथ्यांक हेर्दा प्रत्येक दुईदेखि ३ हजार बच्चा जन्मिदा एक जनामा थाइराइड देखिन्थ्यो । विदेशतिर प्रत्येक बच्चा जन्मिनेबित्तिकै थाइराइड टेस्ट हुन्छ । बच्चामा थाइराइड देखिए त्यसले बच्चाको वृद्धिविकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य अग्र्यानहरुको डेभलपमेण्टमा ठूलो असर गर्छ ।

त्यसैले सबैभन्दा चाँडो थाहा पाउन सके यसको असर कम हुन्छ । नेपालमा पनि धेरै अस्पतालमा सुरु भइसकेको छ, जन्मिने बित्तिकै बच्चाको थाइराइड टेस्ट गर्ने । प्रत्येक दुईदेखि ३ हजार बच्चामा एक जनालाई हुनु भनेको कमन हो । यो उपचार गर्न सकिने खालको रोग हो । समयमै उपचार पाए बच्चाले उसको ग्रोथको लागि केही पनि समस्या हुँदैन ।

डा. पोखरेलका अनुसार आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताए ।

नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरु पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्ने उनको भनाइ छ ।

उनले थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरुलाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउन आग्रह गरे ।

प्रतिक्रिया