मंगलबार, जेठ ८, २०८१

कान्तिमा चिकित्सक अभाव, समयमा उपचार नहुँदा ज्यानकै जोखिम

आकांक्षा धामी २०७८ चैत २४ गते १९:३१

काठमाडौं । काठमाडौं ३, महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा दिनहुँ बिरामीको चाप हुने गर्छ । काखमा बच्चा च्यापेर देशका विभिन्न ठाउँबाट मानिसहरू यस अस्पतालमा आउने गर्छन् । यस अस्पतालमा प्रभावकारी उपचार हुन्छ भन्ने ठानेर काठमाडौंलगायत विभिन्न ठाउँका बिरामी बालबालिकालाई उपचारका लागि ल्याइने गरिएको छ । देशका विभिन्न प्रतिष्ठित अस्पतालमा पनि सफल उपचार सम्भव नभएपछि अन्तिम विकल्प खोज्दै बिरामीलाई यहाँ ल्याउने गरिएको छ ।

जुम्लाबाट छोराको उपचार गर्न हरिमाया रोका यही अस्पतालमा आएकी छन् । टाढाबाट थोरै पैसा बोकेर उनी यस अस्पतालमा उपचारका लागि आइन् । भनिन्छ सरकारी अस्पतालमा थोरै सेवा शुल्क लाग्छ । तर आर्थिक अवस्था कमजोर भएकी रोकालाई यही सरकारी अस्पतालको शुल्क पनि बढी लागेको छ ।

उनले कर्णालीका विभिन्न ठाउँका अस्पतालमा छोराको उपचार गरिन् । तर कुनै अस्पतालमा पनि पेटको समस्या भएका ६ वर्षीय बालकको उपचार सम्भव भएन । रोकाले भनिन्, ‘टाढाबाट आइयो, समयमा टिकट र उपचार नपाउँदा झन् निराश भएकी छु । उपचारका लागि पैसा थोरै छ । अस्पतालले एक साता उपचार समय लाग्ने भनेको छ, के खाने–के लाउने, कता सुत्ने भन्ने पीरैपीर छ ।’

त्यस्तै सिरहादेखि छोरीको उपचार गर्न आएका अवधेश झा पनि निराशसँगै अध्याँरो मुहारमा देखिन्थे । सरकारी अस्पतालमा सस्तो र राम्रो उपचार हुन्छ भनेर आएका उनलाई पनि सस्तै भनिएको कान्ति बालको सेवाशुल्क महँगो लागेको छ ।

कान्तिले अस्पतालमा गरिब–दुःखीलाई पनि ख्याल गर्दै उपचार सेवा दिइरहेको दाबी गर्छ । तर सर्वसाधारण भने यसतर्फ पटक्कै ध्यान नदिएको बताउँछन् । अरू ठाउँमा उपचार सम्भव नहुँदा बिरामीलाई मृत्युसँग लड्नका लागि पनि कान्ति बाललाई नै मानिसहरूले सम्झने गरेका छन् ।

बालबालिकाको सफल उपचार गर्न देशैभरि प्रसिद्धि कमाएको अस्पताल मानिन्छ कान्ति । सबैको भरोसाको अस्पताल पनि हो । सबैको आडभरोसाको अस्पताल भएकाले यहाँ बिरामीको चाप निकै हुन्छ । पूर्वको झापादेखि पश्चिमको दार्चुलासम्मका बिरामी आउने हुँदा झन् भिड हुने गरेको अस्पताल स्रोतको भनाइ छ । थोरै जनशक्ति भएको अस्पताल प्रशासनका जिम्मेवार व्यक्तिहरू नै स्वीकार गर्छन् । समयमा उपचार नहुँदा बिरामी तथा उनका अभिभावकले झनै सास्ती भोग्नुपर्छ ।

बिरामी छोरी च्यापेर सर्लाहीदेखि छोराको उपचार गर्न भन्दै आशामाया र उनका श्रीमान् अखिलेश यस अस्पतालमा आएका छन् । उनीहरूको छोरालाई टाउकाको समस्या छ । चिकित्सकले अप्रेसन गर्नुपर्ने भन्ने सल्लाह दिएपछि आशामाया र अखिलेश यस अस्पतालसम्म आएका हुन् । तर गरिबीको चपेटामा रहेका उनीहरूलाई अप्रेसन खर्च कसरी जुटाउने भन्ने चिन्ता छ ।

यस्तै छोराको पेटको समस्या लिएर सिराहाका शुभम् यादव यस अस्पतालमा आएका छन् । उनले भने, ‘सिराहादेखि आएको हुँ, तर समयमा बच्चाको उपचार हुन्छ कि हुँदैन मलाई डर लागेको छ, सबै अस्पताल पुगँे । तर उपचार कतै पनि सम्भव नभएपछि म यता आएको हुँ ।’ आर्थिक अवस्था पनि नाजुक भएका यादवले सहयोगको लागि समेत आग्रह गरेका छन् । बच्चाको पेटको अप्रेसन गर्न आफूसँग पैसा नहुँदा साह्रै अप्ठ्यारो परेको उनले गुनासो गरेका छन् ।

त्यस्तै छोराको कानमा भएको समस्या लिएर दाङबाट सम्झना कटुवाल पनि कान्ति बाल अस्पतालमा आइन् । दुखाइको पीडामा छोरो रुने समस्या हुँदा पनि अस्पतालले उपचारका लागि चार दिनसम्म कुराएको उनको आरोप छ । दाङदेखि एक्लै आउँदा साथमा एकजना आफन्तसमेत नहुँदा झनै गाह्रो भएको उनको भोगाइ छ । अस्पतालले अभिभावकको भूमिका नखेलेको उनले गुनासो गरिन् ।

सामान्य पैसा ऋणपान गरेर त ल्याइन्, तर त्यसले पनि नपुग्ने भएपछि त्यतिकै फर्किनुपर्ने अवस्था भएको छ उनलाई । कान्ति बालमा आउनुभन्दा पहिले उनले अरू अस्पतालमा उपचार गराउँदा लाखौं रुपैयाँ सकेकी छन् । पैसा हुँदा पनि प्रभावकारी उपचार नभएको उनको गुनासो छ । सम्झना भन्छिन्, ‘अस्पताल नै सबैको उपचार गर्ने थलो भनेर आशा मानेर आउँछौं । तर उपचार भएन भने निराश बनेर फर्कनुपर्छ ।’ उनले आफ्नो छोरोको उपचारमा सहयोग गर्न आग्रह गरेकी छन् ।

कान्ति बालमा बिरामीले समयमा उपचार गर्न नपाएको, गरिब–दुःखीका छोराछोरीले सहुलियत नपाएकोलगायत गुनासो छ । दिनहुँ आउने सयौं बिरामी बालबालिकाबाट अस्पतालले सेवा–शुल्क असुल्ने गरेको छ । तर सेवा–शुल्कबाट उठेको रकमअनुसार अस्पताल परिसरमा काम हुन सकेको छैन । अस्पतालमा प्रतिदिन मान्छेको चाप हुने अस्पतालमा राम्रोसँग फोहोर व्यवस्थापन नहुनु पनि दुखद पक्ष हो ।

अस्पतालभित्रको शौचालयको गन्धले बिरामी बालबालिका झनै बिरामी पर्ने अवस्था भएको बिरामीका आफन्तको गुनासो छ । सिटी अस्पतालका रूपमा रहेको कान्ति अव्यवस्थित हुँदा अरू अस्पतालको के भरोसा गर्नु भन्ने सर्वसाधारणको भनाइ छ । केही बालबालिकाले बल्लतल्ल उपचारको अवसर पाए पनि रिपोर्ट भने धेरै नै ढिला आउने गरेको बिरामीका आफन्तको गुनासो छ ।

कान्ति बाल अस्पतालमा बिरामीलाई सेवा, अध्ययन, अनुसन्धानजस्ता महत्त्वपूर्ण काम हुने गर्छ । बिरामीलाई लिइने शुल्क कान्ति बाल अस्पताल विकास समितिले निर्धारण गर्छ । कान्ति बाल अस्पतालका पूर्वनिर्देशक प्रा. डा. अजित रायमाझी निजी अस्पतालभन्दा कान्ति बालमा शुल्क धेरै सस्तो भएको दाबी गर्छन् । अस्पतालमा आएका बिरामीलाई के रोग भएको हो, राम्रोसँग अध्ययन अनुसन्धान गरेर सर्वसुलभ रूपमा उपचार गर्ने गरिएको डा. रायमाझीको दाबी छ । गरिब, निमुखा जनताका छोराछोरीलले अस्पताल आइसकेपछि फर्केर जानु नपरोस् भनेर अध्ययन–अनुसन्धान गरेर सेवा दिने गरेको अस्पतालका चिकित्सक तथा प्रशासनको दाबी छ ।

अस्पतालमा उपचारमा ढिलासुस्ती भएको र समयमा उपचार नपाउने गरिएको सर्वसाधारणको गुनासो छ । अस्पतालका जिम्मेवार व्यक्ति पनि ढिलासुस्तीका कारण बिरामी मर्कामा परेको गुनासोलाई सहर्ष स्वीकार गर्छन् । उपचारमा ढिलासुस्ती हुने गरेको गुनासो छ नि ? भन्ने जिज्ञासामा अस्पतालका पूर्वनिर्देशक डा. रायमाझी भन्छन्, ‘त्योचाहिँ हो, म यसलाई नकार्दिनँ ।’

अस्पतालमा सर्जरी सेवा, आईसीयू चाहिने अवस्था, विभिन्न अनुसन्धानात्मक क्रियाकलाप जस्तो– सीटी स्क्यान, ईसीजीलगायतमा ढिलो हुने गर्छ । २५ वर्षअघि जुन दरबन्दी थियो, अहिले पनि त्यही भएको अवस्था छ । सरकारले जनसंख्या वृद्धिको अनुपातमा दरबन्दी बढाउन नसकेकाले भनेजति जनशक्ति छैन । जसको असर बिरामीमा पर्ने गरेको छ ।

कान्ति बालमा उपचार खर्च सस्तो भए पनि अझै गरिबमुखी उपचार सेवा नभएको सर्वसाधारणको गुनासो छ । अस्पतालले बिरामी बालबालिका र उनीहरूका अभिभावकको भावनामा ठेस नपुग्ने गरी उपचार सेवा दिनुपर्छ ।

यस्तै कस्तो आर्थिक अवस्थाका अभिभावक आफ्ना छोराछोरीको उपचार गर्न आएका छन् ? उनीहरूलाई उपचारमा सहयोगको खाँचो छ कि ? भन्नेतर्फ अस्पतालले प्रशासनले ध्यान दिनुपर्ने देखिन्छ । यस्तै अस्पतालमा सिकिस्त भएर आउने बालबालिकामाथि ढिलासुस्ती गर्नु भनेको ज्यानमाथिको खेलबाड हो । समयमै उपचार नपाउनु भनेको नागरिकको मौलिक हकको हनन पनि हो ।

सरकारी अस्पताल भनेको सर्वसाधारण तथा गरिब–निमुखा परिवारका बिरामीको भावनाको कदर गर्ने हुनुपर्छ । २५ वर्षअघिको दरबन्दी प्रणाली सरकारले शीघ्र परिवर्तन गर्नुपर्ने देखिन्छ । जनसंख्या वृद्धि भएअनुसारै जनशक्ति राखे अनि चाहिएका उपकरण किन्न कुनै कञ्जुस्याइँ नगरे सरकारी अस्पताल बिरामी बालबालिकाको लागि सञ्जीवनी बन्थ्यो कि ?

प्रतिक्रिया