शुक्रबार, वैशाख ७, २०८१

मनाङेले कुटे कर्मचारी, मन्त्री भए पछि पनि रोकिएन दादागिरी

नेपालखोज २०७८ चैत २४ गते १७:५२

काठमाडौं । दिपक मनाङे उर्फ राजीव गुरुङले एक कर्मचारीमाथि हातपात गरे पछि नेपाली राजनीतिमा यो घटना चर्चाको विषय बनेको छ । ठेकापट्टा र गुण्डा पृष्ठभूमिबाट राजनीतिमा उदाएका मनाङेले आफ्नै मन्त्रालयअन्तगर्त काम गर्ने एक कर्मचारीलाई हातपात गरेका हुन् ।

उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन । तर मनाङेको स्वभाव नै हो भन्दा फरक पर्दैन उनमा दादागिरीको शैली आज पनि जीवित नै छ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका मनाङेले आफ्नो पदीय मर्यादा बिर्सेर कर्मचारीलाई हातपात गरेपछि जनमानसबाट व्यापक विरोधका स्वरहरु गुन्जिएका छन् ।जनताहरुले भन्न थालेका छन्, कस्तो मन्त्री पाइएछ ? कस्तो मान्छेलाई भोट हालेर जिताइएछ ?

राजनीतिक विश्लेषकले पनि संस्कार नभएको मन्त्री बनाइएपछि परिणाम यो नै हुने गुनासो गरेका छन् । एक राजनीतिक विश्लेषकले भने, ‘उहाँ हिजो जुन पृष्ठभूमिबाट आउनुभएको हो । त्यस्को धंगधंगे कायमै रहेको छ । तर जनताबाट निर्वाचित हुँदै मन्त्री बनेपछि उहाँले पदीय मर्यादाको ख्याल गर्नुपर्छ । गुण्डागर्दी नै गर्ने हो भने सार्वजनिक पदमा किन बस्नु ? सार्वजनिक पदमा बसेपछि जवाफ दिनुपर्छ ।’

मनाङेको यस्तो खालको हेपाहा प्रवृति यसअघि पनि उदांगो भएका थिए । उनले मन्त्री हुनुअघि पनि कास्की एन्फाका उपाध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए । राजनीतिक विश्लेषकले भने, ‘उहाँमा मलाई हिजोका दिनमा गुण्डा हुँदा पनि कसैले केही गर्न सकेन भने आज त म मन्त्री हो भन्ने घमण्ड छ । उहाँ जनताको सेवाभन्दा पनि आफ्नो दुनो सोझाउन् आउनुभएको जगजायर नै छ । उहाँमा अलिकती पनि नैतिकता भन्ने कुरा छ भने माफ माग्नुपर्छ ।’

मन्त्रालयमा कार्यरत कर्मचारीले पनि मनाङेको दादागिरी शैलीको विरोध गरेका छन् । एक कर्मचारीले भने ‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ यसरी त काम गर्न गाह्रो हुन्छ । हाम्रो अभिभावक हो मन्त्री भनेको । उहाँले त हामीहरुसँग काम लिन सक्नुपर्छ । उहाँले त हाम्रा गुनासोहरु सुनेर सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ । राजनीतिक संस्कार नभएका मन्त्री भएपछि कहीँ नभएको जात्रा हाडी गाउँमा हुँदो रहेछ ।’

घटनापछि मन्त्री मनाङेले भने आफूले सामान्य रूपमा सम्झाएको बताए । उनले भने, ‘कर्मचारीहरू त चोर नै हो । अलिकति गाली गरेपनि हातपात भन्छ नि । ठगेर खान नपाएपछि त्यै भएर आरोप लगाउने त हो । त्यस्तो ठगलाई मैले किन कुट्नुपर्‍यो, चोरहरूलाई कुट्ने बानी छैन । त्यसलाई कारबाही गर्ने हो पछि । पिट्यो भने त मरिहाल्छ नि । त्यसलाई पुलिसले पिट्ने हो ।’

स्वरोजगारको कार्यक्रम कार्यविधि बनाउने विषयमा सम्झाएको स्पष्ट पारेका हुन् । उनले भनेऽ ‘स्वरोजगारको प्रोजेक्ट बेच्न लागेको थियो । बाहिर कुरा आइरहेको छ, कार्यविधिको डिजाइन गरेको छस् रे भनेर सम्झाएको हुँ । उसले आफ्नो मान्छेको हाल्ने लागेको थियो । धेरैको कुरा आइरहेको छ, यस्तो नगर भनेपछि गेम सुरू भयो ।’

आफू एक्लै भएकोले कर्मचारीहरू मिलेर अनावश्यक आरोप लगाएको मनाङेले बताए । उनले भन, ‘मन्त्री त एउटा हुन्छ, कर्मचारी ३०-४० जना छन् । यस्ता चोरहरू कहाँबाट लोकसेवा पास भए भनेर छक्क परेको छु । गाली गरेको हो, आइन्दा यस्तो कुरा थाहा भयो भने राम्रो हुँदैन भने । लोकसेवामा चोर्नु भनेर सिकाउँदैन भनेर सुझाएको हुँ ।’

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताए । प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय लिने उनले बताए । प्रवक्ता खड्काले मुख्यमन्त्री कार्यालयको आधिकारिक निर्णय आउनेवित्तिकै तत्काल मिडियामार्फत् नै जानकारी गराउने पनि बताए ।

मनाङे मनाङबाट पदेशसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् । उनको एमालेबाट उम्मेदवार बन्ने हल्ला थियो तर गुण्डालाई उम्मेदवार बनाएको भनेर एमालेजनले नै व्यापक आलोचना गरेका थिए । उनले एमालेबाट पाइसकेको टिकट खोसिएपछि स्वतन्त्र चुनाव लडेका थिए । उनलाई एमालले उनी लडेको क्षेत्रमा उम्मेदवार नउठाएर सहयोग गरेको थियो । पछि उनी एमालेलाई लात हानेर कांग्रेस गठबन्धनमा गएर मन्त्री बने ।

प्रतिक्रिया