काठमाडौंको फोहोरबाट बिजुली र ग्यास उत्पादन गराैं : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ चैत २४ गते १५:०१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भमा प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताएका छन् । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताए । सुन्दर सहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताएका हुन् । उनले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए ।

उनले फोहोरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए । उनले भने, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले । त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्यास दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ । यो काम नेपाल आफैँले गर्नसक्छ । विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन् । काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए । उनले फोहोरको उचित व्यवस्थापन गर्नसकेमात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताए ।

प्रतिक्रिया