माधव र प्रचण्डलाई ओलीको चुनौतीः निर्वाचनमा तीन सिट ल्याएर देखाउ

नेपालखोज २०७८ चैत २५ गते १६:१२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएका प्रचण्ड र २३ सिट दिएका माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

आज काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले २३ सिट पाउने हुत्ति नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौति दिए । जनादेशको दूरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिए ।

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए । उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको बताए ।

वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उनले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताए । विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।

त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि स्मरण गराए ।

प्रतिक्रिया