‘काठमाडौं-तराई/मधेस द्रुतमार्गमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भयो, दोषीलाई कारबाही गराैं’

नेपालखोज २०७८ चैत २५ गते २०:०७
file photo

काठमाडौं । विकास तथा प्रविधि समितिको बैठकले स्थलगत अनुगमनका क्रममा काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजना निर्माणको चरणमा बनिसकेका कतिपय संरचनाहरु चर्किएको र भत्किएको अवस्थामा पाइएको बताएको छ । आज बसेको सिमितिको बैठकले तोकिएको मापदण्ड अनुरुप द्रुतमार्ग निर्माण हुनेमा प्राविधिक विज्ञहरुले समेत शंका व्यक्त गरिरहेको भन्दै दोषिलाई कारवाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा वार्षिक प्रतिवेदन,२०७८ माथि छलफल भई सदस्यहरुले दिएको राय सुझावहरुलाई समावेश गरी प्रतिनिधि सभाको आगामी बैठकमा प्रतिवेदन पेस गर्ने निर्णय समेत भएको बताइएको छ । काठमाडौं-तराई/मधेस द्रुतमार्गबारे समितिले भन्यो, ‘समितिबाट स्थलगत अनुगमनका क्रममा काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजना निर्माणको चरणमा बनिसकेका कतिपय संरचनाहरु चर्किएको, भत्किएको, फुटेको, गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग भएको र प्रारम्भिक चरणमा नै बनेका संरचनाहरु मर्मत समेत भएको पाइएको हुँदा सोही धरातलमा द्रुतमार्ग निर्माणको काम अगाडि बढाउँदा तोकिएको मापदण्ड अनुरुप द्रुतमार्ग निर्माण हुनेमा प्राविधिक विज्ञहरुले समेत शंका व्यक्त गरिरहेको सन्दर्भमा उक्त कार्यको छानविन गरी यथार्थ विवरण पत्ता लगाई दोषिलाई कारवाही गर्न समिति नेपाल सरकार रक्षा मन्त्रालयलाई निर्देश गर्दछ ।’

द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापनका सम्बन्धमा नियमानुसार काम नभएको २०७७।१२।१९ गते बसेको सार्वजनिक लेखा समितिको बैठकले निर्दिष्ट कानुन अनुसार खरिद प्रक्रिया सञ्चालन नभएकोले खरिद प्रक्रिया रद्द गरी पुनः नियमानुसार खरिद प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई निर्देश दिएको थियो । निर्देशन उपर पुन:र्विचारका गर्नका लागि भोलिपल्ट अनुरोध आएको समितिले बतायो । समितिले भविष्यमा यस प्रकारको अवस्था आउन नदिने गरी खरिद प्रक्रिया सञ्चालन गर्न, तत्कालिन सम्बद्ध पदाधिकारीलाई सचेत गराउन समेत निर्देश गरी सकेको अवस्थामा ठेक्का व्यवस्थापनका सम्बन्धमा निर्दिष्ट कानुन अनुसार सम्झौता नगरी कानुनको गम्भीर उल्लंघन गरेको पाइएको स्पष्ट पार्‍यो ।

आयोजनासँग विभिन्न मितिमा बैठक बसी आयोजनाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु पारदर्शी र विश्वसनीय रुपमा अगाडि बढाउन पटक पटक निर्देश गरेता पनि आयोजनाबाट हुने ठेक्का व्यवस्थापनका कार्यहरु कानुन विपरित हुने गरेको पाइएको पाइएको भन्दै समितिले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । ठेक्का व्यवस्थापनको त्रुटीपूर्ण कार्यमा संलग्न पदाधिकारीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन समितिले नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनालाई निर्देश गरेको जानकारी दिएको छ ।

ठेक्का व्यवस्थापनका सन्दर्भमा सम्बन्धित निर्माण व्यवसायीले पेस गरेको विश्वसनीय नभएको भनी समितिमा गुनासो आएको हुँदा प्याकेज नं तीन अनतर्गत भएका ठेक्का व्यवस्थापनका सम्पूर्ण कागजातहरु ७ दिनभित्र समितिमा उपलब्ध गराउन समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल सरकार रक्षा मन्त्रालय र काठमाडौ-तराई/मधेस द्रुतमार्गआयोजनालाई निर्देश गरेकी छन् ।

प्रतिक्रिया