म्याग्दीमा असिनाले खेतीबाली नष्ट

नेपालखोज २०७८ चैत २७ गते ९:५३

काठमाडौं । म्याग्दीमा हिजो दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट गरेको छ । बेनी नगरपालिका सहित रघुगंगा र मंगला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका छन् । रघुगंगाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मंगलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो।

भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगंगा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए। यतिखेर गहुँ भित्र्याउने चटारो रहेको छ।

हावाहुरीसँगै असिनापानी परेर सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको कृष्णलाल सापकोटाले बताए। क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया