आफन्तलाई नियुक्ति दिने होडबाजी !

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच कसले आफ्ना धेरै आफन्तलाई महत्त्वपूर्ण नियुक्ति दिलाउने भनेर प्रतिस्पर्धा नै चलेको छ । खासगरी सत्ता गठबन्धनका दुई प्रमुख दल पनि कम्युनिस्ट नै हुन् जसले आफ्ना मान्छेलाई पदमा पुर्याउन जोडतोडले लागि परेका छन् ।
नेपालको राजनीतिमा कम्युनिस्टले परिवारवादलाई जोडतोडले मलजल गरिरहेको दृष्टान्त पछिल्लो घटनाक्रमले पनि पुष्टि गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नालाई काखा र अन्य योगदान र बलिदान गर्नेलाई पाखा लगाएको आरोप पनि पार्टीकै कार्यकर्ताले लगाउने गरेका छन् ।
नेकपा एकीकृत समाजवादीले नेकपा एकीकृत समाजवादी गठन गरी सरकारमा गएपछि आफ्ना परिवारका सदस्य र नातेदारहरुलाई नियुक्तिहरुमा प्राथमिकतामा राखेका छन् । नेपालका भाइ अनिलकुमार उपाध्याय कृषि विकास बैंकका सीईओ छन् । बहिनी-ज्वाइँ कैलाश पोखरेल राजदूतमा नियुक्त भए । भाइ सरोजकुमार उपाध्याय नेकपा एसका केन्द्रीय सदस्य छन् । सम्धि सोमप्रसाद पाण्डेका साढुभाइ गोविन्दप्रसाद कोइराला (बन्दी) कानुनमन्त्री नियुक्त भए ।
कानुनमन्त्रीमा बन्दीलाई नियुक्त गरिएपछि माधवको चर्को आलोचना भएको थियो । एमसीसी अनुमोदन गराउन बन्दीले व्याख्यात्मक घोषणाका लागि भूमिका खेलेको भनिएको थियो । बन्दी तिनै अधिवक्ता हुन् जसले केपी शर्मा ओलीले गैरसांसदलाई मन्त्री बनाउँदा ओलीको विपक्षमा वकालत गरेका थिएँ । तर उनी आफैं गैरसांसद भएरै पनि मन्त्री बने । उनी हिजोका दिनमा गैरसांसदलाई मन्त्री बनाउन हुँदैन भनेर आफूले गरेको वकालतमा आफैं बालुवामा पानी हाले झैं गरे । उनी आफैं मन्त्री बन्न पुगे । संवैधानिक हिसाबले भने उनलाई कानुनले ६ महिना मन्त्री बन्न दिन्छ ।
यस्तै प्रधानन्यायाधीशमाथिको महाअभियोग र कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री बनाउन बन्दीले भूमिका खेलेको भनेर उनलाई मन्त्रीको पुरस्कार दिइएको बताइएको छ । तर, त्यस्ता केसमा उनी एक्लै भने लडेका होइनन् । उनी माधवको पार्टी एकीकृत समाजवादीसँग नजिक रहेको र माधवको आफन्त रहेकाले मन्त्री बन्ने मौका पाए ।
माधव नेपालले नेकपा एमालेको महासचिव हुँदा आफ्ना भाइलाई महत्त्वपूर्ण नियुक्ति दिलाएका थिए । कम्युनिस्ट पार्टीमा परिवारवाद छिर्यो भनेर उनको आलोचना भएको थियो । जवाफमा माधवले भनेका थिएँ, ‘म परिवारमा झगडा गराउन चाहन्नँ ।’ उनको आशय थियो परिवारका सदस्यलाई रिझाउन नसके झगडा पर्छ । बरु आलोचना खेप्न सक्ने उनको आशयले कम्युनिस्टहरु नीतिमा भन्दा नेतामा विश्वास गर्छन् र नेताका परिवारले राजनीतिमा भाग पाए केही बोल्दैनन् भनेर पुष्टि गरेको थियो ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारलाई पद र नियुक्तिहरुमा लैजाने क्रम बढाएका छन् । उनकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । रेणुलाई पुनः मेयर बनाउन प्रचण्ड सक्रिय भइसकेका छन् । उनले कम्मर कसेर लागेको देख्दा यस्तो लाग्छ छोरीलाई दोहोर्याउन यति धेरै गर्ने बाबुले पीडित भनिएका माओवादीका कार्यकर्ताका लागि केही गरेको भए आज प्रचण्डको आलोचना नै गर्नुपर्दैन थियो । उनाले आफ्नै छोरी गंगा दाहाल सचिवालयमा राखेका छ । उनका भाइ नारायण दाहाल माओवादीका केन्द्रीय सदस्य छन् । ज्वाइँलाई पनि महत्त्वपूर्ण पद दिलाउन उनी सफल भएका छन् । उनी असफल त केबल बेसहारा र हिजोका दिनमा प्रचण्डका लागि गोली थाप्न र मर्न तयार हुने ती तमाम सहिद घाइते र अपाङ्गका लागि भएका छन् ।
प्रचण्डलाई परिवारवादले यसरी गाज्यो कि उनी परिवारभन्दामाथि सोच्न नसक्ने स्थितिमा पुगेका छन् । उनले हालै मात्र माओवादीको कोटामा राष्ट्रियसभा सदस्यमा भाइ नारायण दाहाललाई नियुक्ति दिलाए । रामनारायण बिडारीको खाली भएको पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने पदमा प्रचण्डले आफ्नै भाइ योग्य देखे, अरु सब अयोग्य ठहरिए ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा कांग्रेस केन्द्रीय सदस्य छन् । उनको सरकारका सञ्चालनमा निकै महत्त्वपूर्ण भूमिकाहरु देखिन थालेको छ । देउवाले आरजुलाई भावी नेतृत्वका लागि स्थापित गर्न खोजेको चर्चा चल्न थालेको छ । तर आरजुलाई कांग्रेसका कार्यकर्ताले सभापति र प्रधानमन्त्री पत्नीभन्दा धेरै गनेका छैनन् । उनले सुदूपश्चिम पुगेर संघीय सांसद त लडिन् तर नेकपा एमालेसँग पछारिइन् । कैलाली क्षेत्र नम्बर ५ मा धेरैको आकलनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई झन्डै पाँच हजारको मतान्तरले पराजित गर्दै एमालेका नारदमुनि राना प्रतिनिधिसभा सदस्यमा विजयी भएँ ।
नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र मानिएको कैलाली ५ मा सुरक्षित हुने आकलन गरेर आरजु राणा देउवाले उम्मेदवारी दिएकी थिइन् । राणाको उम्मेदवारीसँगै यो निर्वाचन क्षेत्र निकै चर्चामा थियो । तर उनलाई बहालवाला प्रधानमन्त्रीको श्रीमती ट्यागले पनि केही काम लागेन् । उनी पराजित भइन् ।
देउवा सुदूरपश्चिम प्रदेश केन्द्रित कार्य गर्छन् । उनले हालै भएको एआईजी बढुवामा सुदूरपश्चिमका तीनैजनालाई बढुवामा पारे । विगतमा आईजीपी नियुक्ति गर्दा तेस्रो वरीयताका भए पनि सुदूरपश्चिमका जयबहादुर चन्दलाई गर्न खोजेका थिए । कतिपय नियुक्तिहरुमा सुदूरपश्चिमकाले प्राथमिकता पाइरहेका छन् । गोरखापत्रको महाप्रबन्धकमा पनि डडेलधुराकै लाल ऐरीलाई रोजे । उसो त ऐरी सक्षम व्यक्ति भने हुन् । उनले नेपाल आयल निगमको जिम्मेवारी सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गरेपछि चर्को विरोध भयो । निगममा योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति दिएको भन्दै सरकारको चर्को आलोचना भयो । थानी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि विस्तारै आफ्ना छोरा अमरेन्द्र यादवलाई बढाउन खोजेका छन् । उनले भरसक विराटनगरको मेयरमा अमरेन्द्रलाई बढाउने नभए सांसद भए पनि बनाउने रणनीति बनाएको छ । जसपाका अर्का नेता डा. बाबुराम भट्टराई पनि छोरी मानुषी यमीलाई राजनीतिमा अगाडि बढाउने चिन्ता देखिएको छ । उनले यसपटकको चुनावमै मानुषीलाई अगाडि बढाउन सक्ने बुझिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि छोरीतर्फका परिवारका सदस्यलाई शक्तिमा ल्याएका थिए । उनले पनि नातेदार खोज्न छाडेनन् । नेपालको राजनीतिमा शक्तिमा पुगेकाहरु परिवार, नातेदार या आफ्नो क्षेत्रमा मात्र ध्यान दिने परिपाठी झन् हावी भएको छ । यसले नेताहरुप्रति आम जनताको दृष्टिकोण नकारात्मक हुने गरेको छ ।

प्रतिक्रिया