गभर्नरको निलम्बन बैंकको ऐन अनुसार भएको हो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नरको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐन अनुसार भएको बताएका हुन् ।
उनले सरकारले राष्ट्र बैंकको ऐन कानुन अनुसार कारबाही गरेकाले त्यो कानुन सम्मत भएको तर्कसमेत गरे । मन्त्री शर्माले गभर्नर किन निलम्बन गरियो भन्ने विषयमा छानविन समितिले छानविन रिर्पोट आए पछि थाहा हुने बताए । उनले छानबिन समिति बनाएकाले अहिले छानबिन समितिलाई काम गर्न दिनुपर्ने बताए । मन्त्री शर्माले राष्ट्र बैंकले लक्ष्य भन्दा बढी कर्जा प्रवाह गर्न दिएर नियन्त्रण गर्न नसकेको आरोप लगाए ।
त्यस्तै अर्थमन्त्री शर्माले देश श्रीलंका बन्छ भन्नु अफवाह मात्रै भएको बताए । उनले सरकारले चुनाव खर्च र वृद्ध भत्तासमेत दिन नसक्ने भनेर गरिएको प्रचार अफवाह मात्र भएको दाबी गरे । मन्त्री शर्माले विदेशीको पानी खाएर हुर्किएका केही नागरिकले वृद्ध भत्ता पनि दिन नसक्ने भनेर जनतालाई अफवाह फैल्याएको बताए ।
उनले सरकारले निर्वाचन तथा अन्य सबै कार्यको लागि रकम निकासा समेत गरेको स्पष्ट पारे । अफवाहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले यस्तो अफवाह फैल्याउनु राष्ट्रघात भएको जिकिर गरे ।
अर्थमन्त्री शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भएको पनि बताए । उनले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । अर्थतन्त्रको विषयलाई लिएर राजनीतिकरण गरेर जनता र उद्योगी व्यवसायीहरुलाई हतोत्साहित गर्न खोजीएको मन्त्री शर्माको भनाई छ ।
उनले अहिले गलत प्रचारबाजी गरिएको जस्तो अर्थतन्त्र ठूलो संकटमा नरहेको दाबी गरे । मन्त्री शर्माले अर्थतन्त्र संकटमा नरहेको भन्दै सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताए । उनले नेपालको कूल सार्वजनिक ऋण कुल गाहस्थ उत्पादनको ४३.४ प्रतिशत अर्थात १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिए । चालु आर्थिक वर्षमा नेपालले वैदेशिक ऋण ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने रहेको बताए ।
अर्थमन्त्री शर्माले अहिले बजारमा तरलता अभाव र विदेशी मुद्रा सञ्चितिमा केही कमि भए पनि पछिल्लो समय रेमिटेन्स बढ्दै गएकाले केही सुधार हुँदै जाने बताए । सरकार मुलुकको अर्थतन्त्रमा बाह्य व्यवस्थापन कसरी सन्तुलन गर्न सकिन्छ भन्ने विषयमा गम्भिर भएर काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया