आठ महिनामा भित्रियो ६ खर्ब ३१ अर्ब रेमिट्यान्स

नेपालखोज २०७८ चैत २९ गते १६:२२

काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय रेमिट्यान्समा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीसम्वन्धी पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार रेमिट्यान्समा एक दशमलव सात प्रतिशतले कमी आई छ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह आठ दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन प्रतिशतले कमी आई पाँच अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच प्रतिशतले बढेकोे थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति अर्थात् संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या उल्लेख्यरुपमा वृद्धि भई दुई लाख २७ हजार नौं सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२ दशमलव नौं प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ४० दशमलव नौं प्रतिशतले वृद्धि भई एक लाख ७८ हजार दुई सय ६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७० दशमलव दुई प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर दुई प्रतिशतले कमी आई सात खर्ब चार अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया