मंगलबार, वैशाख १६, २०८२

बिमा समितिका अध्यक्षले भने- कोरोना बिमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ

नेपालखोज २०७८ चैत २९ गते १८:४३

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बिमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ललितपुरको कुपन्डोलस्थित बिमा समितिको कार्यालयमा आज आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बिमाको समस्या समाधान गर्न प्रतिवद्ध रहनुभएको उल्लेख गर्दे एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष सिलवालले कोरोना बिमाको दाबी भुक्तानीका सम्बन्धमा माननीय अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गर्नुका साथै बिमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको उल्लेख गरे । अध्यक्ष सिलवालले चालू आर्थिक वर्षमा बिमा दाबी फछ्र्यौट उल्लेखनीयरुपले बढेको र बिमा दाबी भुक्तानीका सम्बन्धमा बिमा समितिमा परेका उजूरीहरुमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।

अध्यक्ष सिलवालले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बिमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३ दशमलव ३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए । गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६ दशमलव ३० प्रतिशत रहेको बिमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बढेर ३५ दशमलव ४४ प्रतिशत जनसङ्ख्यामा बिमाको पहुँच पुगेको र यो अझै बढ्दै जाने बताए ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए । बिमा समितिका निर्देशक दिनेशकुमार लालले समितिले विगतमा नभएका धेरै काम गएको एक वर्षमा नै सम्पन्न गरेको विचार व्यक्त गरे । बिमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संचालन गरेको कार्यक्रममा बिमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्णबहादुर थापा र बिमा समिति कर्मचारी सङ्गठनका अध्यक्ष पदमप्रसाद सोडारीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया