आउने भयो दुई साताभित्रै काठमाडौंका धारामा मेलम्चीको पानी (तस्बिरसहित)

नेपालखोज २०७८ चैत २९ गते २०:२६

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पुरा भएको बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्वर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्वरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गर्दै यस्तो बताएका हुन् ।

गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीका कारण आयोजनास्थल हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । सो अवसरमा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी आगामी नयाँ वर्ष २०७९ को वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताए । उनले सरकारले गरेको घोषणा र प्रतिवद्धता अनुरुप चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न सफल भएकोमा खुसी व्यक्त गरे ।

विगतको सरकारले हतारमा मेलम्चीको पानी पथान्तरण गर्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम पनि लिन नचाहेकोमा दुःख ब्यक्त गर्दै मेलम्ची नदीको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको क्षेत्रमा सरकारले केही राहत उपलब्ध गराएको र क्षतिग्रस्त सडक, पुल, सिँचाई तथा नदी नियन्त्रणका लागि खानेपानी मन्त्रालयबाट बजेट छुट्याई सकिएको जानकारी दिए ।

विभिन्न बाधा, व्यवधान, अड्चन र समस्याका बाबजुद पनि मेलम्ची अयोजनाको पुनःनिर्माण गरी पानी पथान्तरण कार्य सम्पन्न गराउन योगदान दिने मन्त्रालय र आयोजनाका कर्मचारी, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय क्षेत्रका नागरिकहरु, विज्ञ, निर्माण व्यवसायी कम्पनी सिनो हाइड्रो, परामर्शदातालाई धन्यबाद दिए ।

सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै खानेपानीमन्त्री चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, मन्त्रालयका सचिव सुरेश आचार्य, आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्याल प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललगायतको उपस्थिति थियो ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको थियो तर असार १ गते आएको बाढीले क्षति पुर्याएको थियो । करिव दुई साता भित्रै मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आईपुग्ने भएको छ । सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी खसालिएको आयोजनाका कार्यकारी निर्देशक पौडेलले बताए ।

प्रतिक्रिया