मंगलबार, वैशाख १६, २०८२

२३९ बैंक तथा फाइनान्सको मर्जर !

नेपालखोज २०७८ चैत ३० गते १९:१०

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रियामा नेपाल राष्ट्र बैंक धेरै हदसम्म सफल देखिएको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ फागुन मसान्तसम्म कुुल दुई सय ३९ बैंक तथा वित्तीय संस्थाहरू मर्जर, प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

‘यति ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्तिमा सामेल हुनु भनेको केन्द्रीय बैंकको मर्जर तथा प्राप्तिसम्बन्धी नीति सफल हुनु हो,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भनेका छन् । उनका अनुसार यसरी मर्जर तथा प्राप्ति हुँदा एक सय ७७ संस्थाको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।

यसैगरी बित्तीय पहुँचतर्फ भने कुल सात सय ५३ स्थानीय तहमध्ये चालु आवको फागुन मसान्तसम्ममा सात सय ५० तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । ‘२०७७ फागुनसम्म सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए,’ प्रवक्ता भट्टले भने ।

चालु आवको फागुन मसान्तसम्ममा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या भने एक सय २८ वटा पुुगेको छ । सोमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ८३ वटा रहेकामा चालु आवको फागुन मसान्तसम्ममा ११ हजार तीन सय ४९ वटा पुगेको प्रवक्ता डा. भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया