नीजि विद्यालयलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जान्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरुको अनुगमनमा मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि सरकारले जोड दिइरहेको बताए ।
उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताए । मन्त्री पौडेलले निक्षी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिइ न्युनतम शुल्कमा पढाउनुपर्ने बताए । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनले बताए । उनले भने, ‘नेपालमा सार्वजनिक विद्यालयहरुको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुन प्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ । त्यसको सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनु छ । त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार । यि तिन प्रकारको सुधार गरेर सार्वजनिक विद्यालयहरुलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ ।
नीजिलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्ने उनले बताए । उनले भने, खालि उहाँहरुलाई राज्यको कानून, राज्यले तोकेका कतिपय प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा होइनकि सेवा दिने संस्थाको रुपमा नीजिले गर्नुस् भनेर उहाँहरुलाई हामीले भनेका छौँ । त्यसोभएर हामी नीजि र सार्वजनिकलाई जुधाउने होइन, नीजि र सार्वजनिकलाई सँगै लैजाने र नीजिलाई ध्यान दिने । सार्वजनिकलाई जोड दिने । सार्वजनिकलाई सुधार्ने हामी अभियानमा छौँ । त्यसोभएर प्रतिस्पर्धीको रुपमा, विरोधीको रुपमा एकअर्कालाई कटाक्ष गर्ने प्रक्रियाको रुपमा होइनकि नीजिमा पढ्ने पनि नेपाली विद्यार्थी हुन् । सार्वजनिकमा पढ्ने पनि नेपाली विद्यार्थी हुन् । फेरीपनि सरकारको जोड सार्वजनिक विद्यालयलाई सुधार्ने रहेको हुँदाखेरी सरकारको जोड सार्वजनिक विद्यालय सुधार्न रहन्छ ।’
उनले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री पौडेलले विद्यालय सुधार्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै शिक्षकहरुले विशेष रुपमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताए । उनले शिक्षक र विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य रुपमा लगाउन आग्रह पनि गरे ।

प्रतिक्रिया