युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ: नेता महतो

काठमाडौं । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौं, युवा उपसमितिद्वारा ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रमका अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक संघसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको विकृति विसंगतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन युवाहरुलाई आग्रह गरेका छन् ।
सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै उनले मानवीय र सामाजिक सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए । सुडी समाज महासंघ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवर्दनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने बताउँदै समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना समेत ब्यक्त गरे ।
सुडी समाज महासंघ नेपालका सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इञ्जिनीयर ओमप्रकाश महतो, सुडी समाज काठमाडौंको सल्लाहकारद्वय विश्वनाथ साह र जयशंकर महतो, अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतलप्रसाद महतोले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबैपक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया