निर्वाचनमा तालमेलको कुरा चलेकै छैन : लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए। उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।’
यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए। उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए। उनले भने, “कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”
फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए । उनले भने, “ राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।” देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनको तर्क थियो । रासस

प्रतिक्रिया