आइतबार, वैशाख २८, २०८२

६ वटा देशमा ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्ट

नेपालखोज २०७९ वैशाख २ गते २०:२७

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टका दुई नयाँ सब-भेरियन्ट (बीए.४ र बीए.५) संसारका कैंयन् देशमा पुगिसकेको कुरा पुष्टि भएको छ । यसबीच वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्ल्यूएचओ) ले जानकारी दिँदै भनेको छ- यी दुई नयाँ भेरियन्ट संक्रामकता तथा गम्भीरताका दृष्टिले अघिल्ला भेरियन्टहरुभन्दा त्यति अलग छैन । यद्यपि डब्ल्यूएचओ चेतावनी पनि दिएको छ कि आउने दिन वा समयमा यो परिस्थितिमा परिवर्तन पनि आउन सक्छ ।

डब्ल्यूएचओको यो अपडेट यस्तो समयमा आएको छ जब एसिया तथा युरोपका कैंयन् देशमा ओमिक्रोनको बीए.२ भेरियन्टका कारण कोरोनाको चौथो लहर आउने आशंका गरिँदै छ ।

यो साताको सुरुमै दक्षिण अफ्रिकाका दुई वैज्ञानिकले बीए.४ र बीए.५ नाम दिँदै ओमिक्रोनको दुई नयाँ भेरियन्ट फेला परेको जानकारी दिएका थिए । यद्यपि उनीहरुले यी दुवै नयाँ भेरियन्टका कारण दक्षिण अफ्रिकामा कोरोना संक्रमणमा भने कुनै ठूलो वृद्धि नदेखिएको जनाएका थिए । अहिलेसम्म यी दुई नयाँ सब-भेरियन्ट ६ वटा देशमा फेला परिसकेको छ जसमा दक्षिण अफ्रिकाका अतिरिक्त बोत्सवाना, बेल्जियम, जर्मनी, डेनमार्क तथा यूके छन् ।

साउथ अफ्रिकी वैज्ञानिक तुलियो डी ओलिबिराका अनुसार, ‘साउथ अफ्रिका मा निकै कम संक्रमण दर, अस्पतालमा भर्ना हुनेहरुको कम संख्या तथा कम मृत्युलाई हेर्दा हामीले चिन्तित हुने वा आत्तिने अवस्था छैन । तैपनि हामी कोरोनाको लगातार परिवर्तन भइरहेको स्वरूपप्रति भने सतर्क छौं । यो भाइरसको असर कम गर्ने तथा खोपलाई प्रभावकारी बनाउने काम चलिरहेको छ भने हामी जिनोम सिक्वेसिङको प्रक्रियालाई पनि मजबुत तुल्याइरहेका छौं ।’

डब्ल्यूएचओले पनि यी नयाँ सब-भेरियन्टमा निरन्तर नजर पुर्याइरहेको छ । डब्ल्यूएचओका वैज्ञानिक मारिया वेन करखोभ भन्छिन्, ‘हामीले अहिलेसम्म बीए.४ र बीए.५ को संक्रामकता तथा गम्भीरतामा यसका पछिल्ला भेरियन्टको तुलनामा त्यति धेरै अन्तर पाएका छैनौं, यद्यपि आउने समयमा परिस्थिति बदलिन पनि सक्छ ।’

यसअघि डब्ल्यूएचओको इमरजेन्सी कमिटीको बैठकले कोरोना भाइरस मानव स्वास्थ्यका लागि अहिले पनि एउटा प्रमुख खतरा भएको कुरा सर्वसम्मतिले पारित गरेको थियो ।

यता अन्तर्राष्ट्रिय स्तरमा लगातार तेस्रो साता कोरोना संक्रमणको संख्या घटेको पाइएको छ । चीनसहित केही देशमा कोरोना संक्रमण बढिरहेकाले त्यहाँका अस्पतालहरुमा दबाब सिर्जना भएको छ । डब्ल्यूएचओले सबै देशसँग कोरोना महामारीविरुद्ध लड्न नियमहरुको कडाइका साथ पालन गर्न अपिलसमेत गरेको छ ।

प्रतिक्रिया