विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु

नेपालखोज २०७९ वैशाख २ गते १६:३८

काठमाडौं । मन्त्रीपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ।संसदीय सुनुवाई समितिको आज सिंहदरवारमा बसेको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदुतहरु उपर उजुरी आह्वान गरेको हो।

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदुतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिएका छन्। गत चैत २४ गते बिहीबार बसेको मन्त्रीपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरव राजदुत सिफारिस गरिएको थियो। घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदुतका लागि सिफारिस गरिएको थियो।

प्रस्तावित राजदुतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानवीन गर्ने छ। त्यसपछि उनीहरुको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरुको नाम अनुमोदन गर्ने र समितिले अनुमोदन गरेका राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त दिर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया