बिहीबार, जेठ २, २०८२

२००६ सालको अग्निकाण्ड !

सुनील उलक २०७९ वैशाख ३ गते १२:२५

७० वर्ष अगाडिको नयाँ वर्षको सम्झना गर्न मन लाग्यो । अधिकांश नेवारहरु जो भक्तपुरबाट आएका थिए ति घरहरुमा बिस्केट जात्राको खुसियालीको तयारीमा रोटी पोल्ने र घर सफा गर्ने कार्य हुँदै थियो ।

विन्ध्यवासिनी मन्दिरमा चैत र असोजमा नियमित पूजा गर्ने गरिन्थ्यो । २००६ को चैतमा पनि पण्डितहरुले नियमित पूजा गर्ने तयारी गर्दै थिए । यस्तैमा चैत २९ गते वैशाख कृष्ण नवमी तिथि मंगलबारको साइतमा एकातर्फ बिन्ध्यवासिनी देवीको पूजा अर्कोतर्फ महादेवको हवनसहितको रुद्रि पूजाको शुभारम्भ भयो । पूजा समाप्तिपछि भोजनको तयारी गरिरहदा हावा चल्न थाल्यो । हावाले बजारमा वितण्ड मच्चाउन थाल्यो । घरका छाना उडाउने र रुखका हाँगाहरु भाँचिन थाल्यो ।

No description available.

यता विन्ध्यवासिनीको हवननजिकैको आँपको हाँगो पनि भाँचिएर हवनमै पर्यो । जसले गर्दा हवनको आगोले विकराल रुप लिन पुग्यो । जलिरहेको हाँगोबाट आगो फैलिएर नजिकैको औषधालयको छानो सल्कियो । त्यसपछि आगो फैलन समय नै लागेन ।

छिनभरमा पोखराका ४०० घर जले भने समरबहादुर बजिमयका श्रीमती, दुई छोरा, दुई छोरी, बेखामान सायमिको आमा, गोरखापत्र बाजेका आमा, रंगनाथ र काँइला गरी ९ जनाको घटनास्थलमै जलेर मृत्यु भएको थियो ।

२००६ सालको अग्निकाण्डको नामबाट चिनिने यस भवितव्यले निकै लामो समयसम्म पोखरामा संकट निम्त्यायो । प्रधानमन्त्री मोहनशमशेरमा बिन्तीपत्र जाहेर भएपछि तत्कालै छानबिन गर्न सरदार फत्तेबहादुर पाण्डे र क्याप्टेन दिव्यशमशेर थापा पोखरा आइपुगेका थिए । छानबिन टोलीको अध्ययनपछि केन्द्रबाट तत्कालै तीन लाख रुपैयाँ क्षतिपूर्तिका लागि पठाइयो ।

घरको तला र प्रकार हेरेर ३०० देखि १८०० सम्म बाँडियो । त्यसपछि पोखराको कतिपय घरहरुको स्वरुप नै बदलियो । पोखरामा कर्कट पाताको छानो छाउन थालियो । कतिपयले घर मर्मत गर्न सकेनन् । मुआब्जा टाठाबाठाले उम्काए भने कतिपयले पाएनन् ।

No description available.

हाम्रो परिवार पनि आगलागीको एक साताअघि मात्र भक्तपुरबाट पोखरा आइपुगेको थियो । बुबाआमा र दुई दिदीहरुका लगाएका कपडाबाहेक सबै लत्ताकपडा र भएका जिन्सी सबै जलेर नष्ट भयो । हाम्रो कुनै घर जलेको थिएन । जिन्सी जलेकाको क्षतिपूर्तिको व्यवस्था थिएन त्यसैले हाम्रो परिवारले कुनै दाबी नै गरेन ।

आगलगीको त्रास पछि पनि भयो । २०१७-१८ सालतिर मोहरिया टोलमा श्याम साहुको घरदेखी दक्षिणतर्फको ६-७ घर जले । यसरी हरेक दुर्घटनाले सचेतनाको पनि शिक्षा दिन थाल्यो । २०-२१ सालतिर भैरव टोलका सकसबहादुरले आफ्नो जिप र ट्रकका लागि भनेर ल्याएको तेल राखेको ड्रममा आगो लाग्दा भैरव टोलमा ठूलो त्रास फैलिएको थियो । त्यहाँ रहेका ४-५ वटा ड्रममा आगो सल्केको भए पोखरामा अर्को ठूलो दुर्घटना हुन सक्थ्यो तर सुझबुझले गर्दा आगो नियन्त्रण गर्न सफल भएको हुँदा कुनै दुर्घटना हुन पाएन ।

प्रतिक्रिया