शुक्रबार, चैत १६, २०८०

‘मुलुकको सेवा गर्नुपर्छ भन्ने सोचले निजामतीतर्फ लाग्ने प्रेरणा मिल्यो’

नेपालखोज २०७८ फागुन ९ गते ९:५५

वाग्मती प्रदेशको पहाडी जिल्ला धादिङको प्रशासनिक नेतृत्व अहिले तनहुँका कृष्णप्रसाद लम्सालको काँधमा छ । २०७८ असोज १ गतेदेखि धादिङको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लम्साल कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ लम्साललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा २४ वर्ष बिताएका धादिङका प्रजिअ लम्साल यसअघि लोकसेवा आयोग बुटवलमा (सह-सचिव) कार्यरत थिए ।
प्रजिअ लम्साल निजामती सेवातर्फ अझै पनि आकर्षण कायमै रहेको बताउँछन् । ‘एकथरी विद्यार्थी सरकारी सेवामा गएर देश र जनताको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरण, विकास व्यवस्थापनलगायतमा राज्यको भूमिकामा जाँदा आफ्नो पहिचान पनि हुने आर्थिक रुपमा पनि रोजीरोटी गुजारा चल्छ यसको अझै पनि साख गिरेको छैन भन्ने हिसाबले आकर्षण देखिन्छ,’ प्रजिअ लम्सालले नेपालखोजसँग भने, ‘एकथरी प्रतिभाशाली युवाहरू निजामती सेवामा केही लिमिटेसन मात्र छ भनेर अर्थोपार्जनको सीमितता छ निजी क्षेत्रमै रहेर उद्यमशील रहेर पनि ठीकै सामाजिक, आर्थिक पनि रुपान्तरण गर्न सकिने र आर्थिक र सामाजिक दुवै हैसियत बढाउन सकिने भएकाले आकर्षण नभएका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू अलि इनाभेटिभ पनि हुनुहुन्छ ।’
धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्सालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४५औं शृंखला :

हाइलाइट्स :
-केही सेवाग्राही सेवा लिने विधि, तरिका, दस्तुर, आवश्यक कागजातहरू केही पनि थाहा नभएका पनि हुनुहुन्छ । उहाँहरूलाई हाम्रा कर्मचारी र कार्यालय प्रमुख स्वयंले सेवा प्रवाहका लागि आवश्यक पर्ने बडापत्रमा र कानुनमा उल्लेखित विषयवस्तु बताएर सेवा लिने दिने गरेको अवस्था छ ।
-सकारात्मक दबाबलाई हामी स्वागत नै गर्छौं । सेवा लिने अधिकार नागरिकको हो । कुनै कमजोर नागरिकका लागि सम्बन्धित अधिकारी र निकायहरूले सकारात्मक रुपमा लिइदिए हुन्थ्यो भनेर आएका सकारात्मक दबाब र अनुरोधलाई हामी सहर्ष स्वीकार गर्छौं ।
-मैले जहाँ जहाँ काम गरेँ । मैले सेवाग्राहीहरूको अवस्था हेरेर सकेसम्म दिनको एक-दुईपटक मनिटरिङ गरेको हुन्छु ।
-हिजो हामी एकात्मक सरकारबाट संघात्मक सरकारमा प्रवेश गरेका छौं । तीन तहको सरकारको परिकल्पना गरेका छौं । संविधानमा एकल अधिकार र साझा अधिकार सूचीकृत गरेका छौं । एकल अधिकार सूचीअन्तर्गत गर्नुपर्ने कामहरू तत्‌तत् निकायले के कसरी गर्ने भनेर कानुन पनि बनिसकेका छन् ।
-एकथरी विद्यार्थी सरकारी सेवामा गएर देश र जनताको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरण, विकास व्यवस्थापनलगायतमा राज्यको भूमिकामा जाँदा आफ्नो पहिचान पनि हुने आर्थिक रुपमा पनि रोजीरोटी गुजारा चल्छ यसको अझै पनि साख गिरेको छैन भन्ने हिसाबले आकर्षण देखिन्छ ।
-निजामती सेवामा छिटो सरुवा र दिने दबाबले स्थायी संयन्त्रका रुपमा मानिएको कर्मचारीतन्त्रप्रति र यसको नतिजाप्रति प्रश्न उठ्नु स्वाभाविक हो ।
-हाम्रो पुस्तालाई राष्ट्र निर्माणको ठूलो चुनौती छ । आर्थिक सामाजिक रुपान्तरण, समृद्ध नेपाल सुखी नेपालीको नारालगायत कुरा प्राप्तिका लागि हामी हरेका क्षेत्रमा रहेका कर्मचारी र व्यक्तिहरूले अनुशासित र धर्ममा रहेर काम गर्‍यौं भने मुलुकका जनताले राखेका अपेक्षा पनि पूरा हुन्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म निजामती सेवामा २०५४ सालबाट प्रवेश गरेको हो । अहिलेसम्म सेवाग्राहीसँग सहकार्य र सेवा प्रभावहमा हातेमालो गरिरहेको अवस्था छ । हाम्रा सेवाग्राही विभिन्न प्रकारका छन् । कुनै सेवाग्राहीलाई सरकारी कार्यालयमा सेवा कसरी लिने, दस्तुर कति, प्रक्रिया के हो, विधि के हो, आवश्यक कागजात के हो सबै थाहा पाएर सेवा लिन आएको पाइन्छ । उहाँहरूले शीघ्र सेवा लिएको पाइन्छ । कुनै सेवाग्राहीलाई सेवा लिने विधि थाहा भएको तर विस्तृत थाहा नभएकाले सम्पर्क र समन्वय गरेर सेवा लिएको पाइन्छ । केही सेवाग्राहीलाई सेवा लिने विधि, तरिका, दस्तुर, आवश्यक कागजातहरू केही पनि थाहा नभएका पनि हुनुहुन्छ । उहाँहरूलाई हाम्रा कर्मचारी र कार्यालय प्रमुख स्वयंले सेवा प्रवाहका लागि आवश्यक पर्ने बडापत्रमा र कानुनमा उल्लेखित विषयवस्तु बताएर सेवा लिने दिने गरेको अवस्था छ । आज भरखर (आइतबार) मात्र हामीकहाँ कोही आमा नखुलेको र कोही बाबु नखुलेको सेवाग्राही आउनुभएको थियो । उहाँहरुको सबै डकुमेन्ट भए पनि आमा र बुबा नभएको अवस्थामा पनि हामीले नागरिकता प्रदान गरेर पठायौं । उहाँहरु निकै खुसी हुनुभयो । हामी पनि लामो समयदेखि रोकिएको कामलाई प्रक्रिया पुर्याएरै नागरिकता दिलाउन सफल भयौं । यसर्थ कार्यालयमा आएका सेवाग्राहीको सेवामा आफूलाई समर्पित गराउने हो । यही उद्देश्यसाथ झन्डै २४ वर्षदेखिको मेरो निजामती यात्रा जारी छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
सकारात्मक दबाबलाई हामी स्वागत नै गर्छौं । सेवा लिने अधिकार नागरिकको हो । कुनै कमजोर नागरिकका लागि सम्बन्धित अधिकारी र निकायहरूले सकारात्मक रुपमा लिइदिए हुन्थ्यो भनेर आएका सकारात्मक दबाब र अनुरोधलाई हामी सहर्ष स्वीकार गर्छौं । तर प्रचलित कानुन विधि, नीतिभित्र परेका र सेवा प्रभाव गर्न नसकिने, सेवा प्रवाहका लागि चाहिने आधारभूत सर्तहरू पूरा नभएको अवस्थामा सम्बन्धित कार्यालयका पदाधिकारी कर्मचारीले कारण बताएर गर्न सकिँदैन भनिसकेको अवस्थामा कानुन मिचेर सेवा दिनुपर्‍यो भन्ने दबाब कहिलेकाहीँ आउँछन् । उहाँहरूलाई सकेसम्म आफ्नो हिसाबले परामर्श दिन्छौं । अनावश्यक रुपमा प्रचलित कानुनअनुसमर दबाब दिने हक तपाईंलाई छैन भनेर सकारात्मक प्रतिदबाब पनि दिने गरेको अवस्था छ ।

जिल्लामा सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि तपाईंको भूमिका कस्तो छ ?
मैले जहाँ जहाँ काम गरेँ । मैले सेवाग्राहीहरूको अवस्था हेरेर सकेसम्म दिनको एक-दुईपटक मनिटरिङ गरेको हुन्छु । कार्यालय वरपर बसेका सेवाग्राहीहरूसँग पनि समस्याबारे सोधपुछ गर्छु । कार्यालयको नियमित बैठकमा पहिलाको कार्यालयहरूमा प्रत्यक्ष सेवा प्रवाहको जिम्मेवारी पनि लिएँ । कतिपय ठाउँमा फ्रन्ट डेक्समा बसेर अधिकृतको काम पनि गरेँ । त्यस्तो अवस्थामा सेवाग्राहीलाई सहजीकरण गरेर उहाँहरूलाई गर्नुपर्ने सहयोग, कागज विधि, पद्धति सिस्टम सबै कुरामा सचेत गराएर काम गरिएको अवस्था छ । मेरो कार्यालयभित्र पनि र कार्यालय प्रमुखहरूको बैठकमा कार्यालय प्रमुखहरूमार्फत सबै कार्यालयका कर्मचारीहरूलाई सेवाग्राहीमैत्री हुने किसिमले तपाईंहरूले नीति र विधि मात्र होइन व्यवहार र संस्कार पनि देखाउनुहोला । कतिपय सेवाग्राहीलाई केही पनि थाहा हुँदैन अन्योलमा हुनुहुन्छ उहाँहरूका लागि आफैं कार्य सम्पादन गरिदिनुहोला भनेको छु । यसैबीच आज (आइबार) एउटा नगरपालिकाको वडा-सचिवहरूको बैठक थियो त्यहाँ उपस्थित भएर मैले यी कुराहरू पनि राखे । कमजाोर सेवाग्राहीका लागि लेखनदासदेखि उनीहरूलाई सहयोग गर्ने मान्छेहरू पनि हुँदैनन् उनीहरू खर्च पनि गर्न सक्दैनन् त्यसका लागि तपाईंहरू आफैं लेख्नुपर्ने निवेदनलगायत प्रक्रियागत कुराहरू आफैं गर्नुहोला । कहाँ फोटो टाँस्ने, कहाँ टिकट टाँस्ने केही सेवाग्राहीलाई थाहा हुँदैन । त्यसैले कमजोर सेवाग्राहीलाई तपाईंहरूले प्रक्रियागत कुराहरू सबै आफैंले गर्नुपर्छ, सेवाग्राहीले गर्नुपर्ने काम पनि तपाईंहरू आफैंले गर्नुपर्ने हुनसक्छ मैले उहाहरण दिएर उहाँहरूलाई भनें । यो कुरा पटक-पटक मैले मेरै कार्यालयमा पनि राखेको छु र कार्यालय प्रमुखहरूको बैठकमा पनि राखेको छु ।

संघीयताअघि र अहिलेको निजामती सेवाको कार्यसम्पादनमा के फरक पाउन सकिन्छ ?
हामी एकात्मक सरकारबाट संघात्मक सरकारमा प्रवेश गरेका छौं । तीन तहको सरकारको परिकल्पना गरेका छौं । संविधानमा एकल अधिकार र साझा अधिकार सूचीकृत गरेका छौं । एकल अधिकार सूचीअन्तर्गत गर्नुपर्ने कामहरू तत्‌तत् निकायले के कसरी गर्ने भनेर कानुन पनि बनिसकेका छन् । साझा अधिकार सूचीमा पनि कुन तहको के-के काम कसरी गर्ने भनेर पनि ऐनहरू बन्दै छन् । यो नयाँ अनुभव पनि भएकाले अहिलेको परिवर्तन र व्यवस्थापनलाई अवलम्बन गरेको अवस्था हो । ठूलो रुपान्तरण हो । बद्‌लिँदो परिस्थितिअनुसार हामी पनि जानुपर्ने अवस्था छ । कानुनी प्रबन्ध, नीतिगत प्रबन्ध, संस्थागत प्रबन्ध, नयाँ प्रविधि, सूचना प्रविधिका कुराहरू पनि आएका छन् यी सबैसँग जानकार भएर आम-जनतासँग हातेमालो गरेर तीनै तहका निकायसँग समन्वय गर्दै सेवा प्रवाह गर्नुपर्ने बद्‌लिँदो अवस्था र चुनौती हो यसअनुसार हामी जानुपर्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
यसमा दुई-तीनवटा कुरा थिए, आर्थिक, मनोवैज्ञानिक, जब सेक्युरिटीको कुरा पनि थियो । यसरी ठूला पदमा अधिकृत सह-सचिव, उप-सचिव भएर मुलुकको सेवा गर्न पाइन्छ भन्ने हिसाबले भन्दा पनि विद्यार्थीकालमा देखापरेका आर्थिक मनोवैज्ञानिक समस्याहरू समाधान गर्नका लागि र बेरोजगार भइरहेको अवस्थामा मानसिक पीडा न्यून गर्नका लागि कतै इन्गेज हुनुपर्छ र मुलुकको सेवा गर्नुपर्छ भन्ने सोच त थियो । यही सोचले प्रेरणा दियो । आफन्तहरूले घचघचाउनु भयो निजामती सेवाको प्रतिष्ठा पनि थियो त्यसैले पनि मेरो आकर्षण बढ्यो ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
यसमा दुवै विचार छन् । एकथरी विद्यार्थी सरकारी सेवामा गएर देश र जनताको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरण, विकास व्यवस्थापनलगायतमा राज्यको भूमिकामा जाँदा आफ्नो पहिचान पनि हुने आर्थिक रुपमा पनि रोजीरोटी गुजारा चल्छ यसको अझै पनि साख गिरेको छैन भन्ने हिसाबले आकर्षण देखिन्छ । भने, एकथरी प्रतिभाशाली युवाहरू निजामती सेवामा केही लिमिटेसन मात्र छ भनेर अर्थोपार्जनको सीमितता छ निजी क्षेत्रमै रहेर उद्यमशील रहेर पनि ठीकै सामाजिक, आर्थिक पनि रुपान्तरण गर्न सकिने र आर्थिक र सामाजिक दुवै हैसियत बढाउन सकिने भएकाले आकर्षण नभएका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू अलि इनाभेटिभ पनि हुनुहुन्छ । ठूलो पुँजी लगानी गर्ने व्यवस्थापन सीप देखाउने साथीहरू पनि हुनुहुन्छ । मेधावी विद्यार्थीहरू दुवै पक्षमा हुनुहुन्छ । उहाँहरू निजी क्षेत्र र निजमती सेवा प्रवेश भए पनि आफ्नो क्षेत्रमा रहेर स्वधर्ममा रहेर आफ्नो क्षेत्रको वृत्तिविकास गरेर माथि पुगेर आफूलाई सामाजमा सभ्य समुन्नत नागरिक बनाउने चाहना सबैको हुन्छ । सबैले आफ्नो रुचिअनुसार क्षेत्र रोज्नुहुन्छ । सबै क्षेत्र राम्रो छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवामा छिटो सरुवा र दिने दबाबले स्थायी संयन्त्रका रुपमा मानिएको कर्मचारीतन्त्रप्रति र यसको नतिजाप्रति प्रश्न उठ्नु स्वाभाविक हो । तर राननीतिक संक्रमणकाल भएको र सरकारहरू परिवर्तन भइसकेको अवस्थामा सरकार पनि आ-आफ्नो चाहनाको हुन सक्छन् । कसरी अगाडि बढ्न सकिन्छ भनेर व्यक्ति परिवर्तन गर्नु स्वाभाविक हो । आफ्नो देशमा राजनीतिक स्थायित्व हुन नसकेको मुलुकमा कर्मचारीको पनि सुनिश्चित व्यवस्थापन हुन नसकेको अवस्थामा सुरु-सुरुका दिनमा यस्ता समस्या देखा पर्न सक्छन् ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हाम्रो पुस्तालाई राष्ट्र निर्माणको ठूलो चुनौती छ । आर्थिक सामाजिक रुपान्तरण, समृद्ध नेपाल सुखी नेपालीको नारालगायत कुरा प्राप्तिका लागि हामी हरेका क्षेत्रमा रहेका कर्मचारी र व्यक्तिहरूले अनुशासित र धर्ममा रहेर काम गर्‍यौं भने मुलुकका जनताले राखेका अपेक्षा पनि पूरा हुन्छ । यसका निम्ति सबैले हातेमालो गरौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टसँग कुराकानी गरेका थियौं । यसपटक हामीले वाग्मती प्रदेशको पहाडी जिल्ला धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

शंकरबहादुर विष्ट, प्रजिअ, डोटी – ‘सेवाग्राहीले नतिजा खोज्छ, हामी प्रक्रिया फलो गर्छौं’

दिलकुमार तामाङ, प्रजिअ, ओखलढुंगा – ‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया