लगानीयोग्य रकम अभाव भएपछि बैंकहरु दबाबमा
आठ महिनामाा २३ खर्ब ६७ अर्ब रुपैयाँको अन्तर बैंक कारोबार

काठमाडाैं। लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरु दबाबमा परेका छन् । पछिल्लो समय बैंकहरुबिचमा हुने पारस्परिक कारोबार अर्थात अन्तर बैंक कारोबार रकम बढेको छ । बैंक तथा फाईनान्स कम्पनीहरुले २३ खर्ब ६७ अर्ब रुपैयाँ भन्दा बढीको अन्तर बैंक कारोबार गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिनामा सञ्चालनमा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल २३ खर्ब ६७ अर्ब ९१ करोड रुपैंयाँ बराबरको अन्तर-बैंक कारोबार गरेका हुन । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र २१ खर्ब आठ अर्ब ६७ करोड रुपैंयाँ बराबरको अन्तर बैक कारोबार गरेका छन् भने बिकास बैंक र फाईनान्स कम्पनीहरुले दुई खर्ब ५९ अर्ब २४ करोड रुपैंयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन् ।
अन्तर बैंक कारोबार रकम बढेको आधारमा २०७७ फागुनमा ९१-दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर दुई दशमलव तीन प्रतिशत रहेकोमा २०७८ फागुनमा छ दशमलव ८२ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ फागुनमा एक दशमलव २६ प्रतिशत रहेकोमा २०७८ फागुनमा छ दशमलव ५६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर-बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ फागुनमा छ दशमलव ५६ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर एक दशमलव २६ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ फागुनमा छ दशमलव ८४ प्रतिशत रहेकोमा २०७८ फागुनमा आठ दशमलव ९८ प्रतिशत कायम भएको छ । २०७८ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ९३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः चार दशमलव ७६ प्रतिशत र आठ दशमलव ७३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया