बिहीबार, जेठ ३, २०८१

अचार बेच्दाबेच्दै बिहे गर्नै भुलेकी सत्यदेवीको कथा…

पार्वती भण्डारी २०७९ वैशाख ४ गते ११:४५

काठमाडौं । असन बजार । सबै आफ्नो काममा व्यस्त देखिने ठाउँ । चाहे पसल चलाउने हुन् वा किनमेल गर्नेहरू । सबै व्यस्त देखिने गर्छन् । सानादेखि ठूला व्यापार गर्नेहरूको जक्सनका रूपमा असनलाई लिइन्छ । एक किसिमले नुनदेखि सुन पाइने ठाउँ हो असन ।

चाडपर्वको बेला होस् वा घरमा पूजाआजा, किनमेलका लागि काठमाडौं बस्ने अधिकांशले असनलाई नै रोज्छन् । कपडा, नुन, बेसार, तरकारी, तेल, ताजा वा सुकेको माछा, अचार, घिउ, पूजा–सामग्री, फलफूल, भाँडाकुँडालगायत बेचिने र किन्ने ठाउँ असन बजार हो । सस्तो पनि जे पनि पाइने भएकाले फुर्सद भयो कि मानिसहरू फुत्त निस्किने यहीँ ठाउँ हो ।

भनिन्छ असन बजारमा नपाइने केही चिज हुँदैन । यहाँ कहिल्यै खाली ठाउँ पनि देखिँदैन, मानिस र गाडीको चाप हुने गर्छ । कोही किनमेल गर्न व्यस्त देखिन्छन् त, कोही बेच्न पनि व्यस्तै हुन्छन् । दिउँसो ३ बजेदेखि ग्राहक भिड हुने ठाउँ हो असन । भिडका कारण सवारी एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन त के, पैदलबाटै भिड छिचोल्न सकस हुने गर्छ ।

No description available.

यस्तै बेलुकीपखको ग्राहकको भिड छिचोल्दै म एउटा अचार पसलमा पुगेँ । असन चोकबाट त्यौडा तथा क्षेत्रपाटी जाने मोडको सडक किनार । काठका सामान्य संरचनामा खुला आकासमुनि एकमाथि अर्को गरी खप्टाएर राखिएका सिसाका डब्बा छन् । मिलाएर एकमाथि अर्को डब्बाको चाङ देखिन्छ । अग्लो चाङ बनाएर राखिएका डब्बाले अचार व्यापारीको आधार शरीर ढाकिएझै देखिन्छ ।

यसैक्रममा म अचार बेच्ने व्यवसायीको कथा खोज्दै जाँदा सत्यदेवी मगरको अचार पसलमा पुगें । जनकपुरमा जन्मिएकी सत्यदेवीको बाल्यकाल उतै बितेको थियो । पछि आफन्त यतै भएकाले काठमाडौं आइन् । अचार व्यवसाय गर्ने मौका पाइन् । उनी बिहानदेखि साँझ अबेरसँग खुल्ने बजारलाई दैनिक पछ्याउने गर्छिन् ।

साँझको बेला, त्यसै पनि असनमा भिड हुने बेला हो । रिपोर्टिङ गर्ने क्रममा मैले उनको पसलमा किनमेल गर्न आउनेजाने गरिरहेका देखे । कुनै बेला उनलाई भ्याउन पनि गाह्रो जस्तो देखिन्थ्यो, कुनै बेला आनन्दले बसेकी पनि देखिन्थिन् ।

भनिन्छ, व्यापारीले झर्कोफर्को गर्नु हुँदैन, झर्कोफर्को गरे अर्कोपल्ट ग्राहक आउँदैनन् र लक्ष्मी पनि रिसाउँछिन् । सत्यदेवी कुनै बेला पनि रिसाएको देखिइनन् । उनी हँसिलो मुहारमा ग्राहक रिझाएर अचार बेच्न खप्पिस छिन् । घरमा रातभरि अचार बनाउँछिन् र दिनभरि असनको सडक किनारमा बेचेर घर खर्च जुटाउने गर्छिन् ।

टिलिक्क परेको सिसाको डिब्बामा खाउँखाउँ जस्तो पारेर अचार बेच्न राखिएको देखिन्छ । तर अचार बनाएर बेच्न पनि तेति सजिलो कहाँ छ र ? हरेक काम गर्ने मानिसले संघर्ष त गर्नुपर्छ नै । संघर्षसँग लड्दै, दुःख झेल्दै सत्यदेवीको दिनचर्या पनि अचार बनाएरै बित्ने गरेको छ । सत्यदेवीले अचार बेच्न थालेको १६ वर्ष पुगेछ । यस अवधिमा उनले धेरै अनुभव सँगालेकी छन् ।

उनी घरमा आफैं अचार बनाउँछिन्, ल्याएर असनमा बेच्छिन् । उनले बनाउने अचार एक–दुई परिकार मात्रै होइन, धेरै नै छ । १५–१६ थरीको अचार तयार गर्छिन् । उनी अकबरे खुर्सानी, लप्सी, बफ, चिकेन, मुला, आँप, माछा, तितेकरेलालगायतको अचारको परिकार बनाएर बेच्ने गर्छिन् । उनले जति जातका खुर्सानी भेटिन्छन्, त्यति नै अचारको परिकार बनाउने गरेकी छन् ।

उनले रिटेल मात्रै होइन, आफूले बनाएको अचार होलसेल पसलमा बेच्ने गर्छिन् । दोहोरो व्यापार हुँदा उनको नाफा गतिलै छ । उनको हातले बनाएको अचारको स्वाद पाएकाहरू पटकपटक आउने गरेका छन् । सत्यदेवीको परिवारले पसल थापेको ४० वर्ष बढी भएको छ । १६ वर्ष अघिसम्म सत्यदेवीको ठूलोबुबाले अचार बेच्ने गर्थे । तर उनी बिरामी परे । त्यसको जिम्मेवारी सत्यदेवीमा आएको छ ।

सत्यदेवीजस्तै काठमाडौका विभिन्न ठाउँमा धेरैजना अचार व्यवसायी छन् । अचार बनाएर बेच्दा राम्रै स्वरोजगार हुने भएपछि मानिसहरू यसतर्फ आकर्षित भएका हुन् । सत्यदेवीको पसलछेवैमा राहुल बस्नेतले पनि अचारको व्यापार गर्छन् । आफ्नो र सत्यदेवीको पसलमा मानिसहरू बारम्बार अचार किन्न आउने गरेको उनी बताउँछन् ।

No description available.

हेर्दा चट्ट बट्टामा सजाएर राखिएको देखिए पनि घरमा बनाएर बजारसम्म ल्याएर बेच्न सजिलो नभएको बस्नेत बताउँछन् । बस्नेतले भने, ‘बट्टामा चट्ट सजाएर राखेको त देखिन्छ, तर यसभित्रका दुःखका कथा धेरै छन्, बनाएर बजारसम्म ल्याएर बेच्न सजिलो छैन, तर नियमित बेचे घर खर्च भने चलाउन सकिन्छ ।’

सत्यदेवी अहिले ४० वर्षकी भइन् । २४ वर्षको उमेरदेखि अचार बेच्न थालेकी उनी व्यवसायमै व्यस्त भइन् । व्यसायमा भुलेकै कारण अहिलेसम्म उनको विवाह भएको छैन । राम्रो अनुहार तथा बानी–व्यवहोरा भए पनि, व्यस्त भएर व्यापारमा अल्झिएकै कारण अहिलेसम्म विवाह नभएको उनी प्रतिक्रिया दिन्छिन् ।

अहिलेसम्म विवाह किन नगर्नु भएको भन्ने जिज्ञासामा सत्यदेवी भन्छिन्, ‘हेर्नुस् न, अचार बेच्दाबेच्दै समय बितेको पत्तै भएन ।’ साँच्चै नै राति अचार बनाउनै व्यस्त र दिनभरि बेच्नै व्यस्त हुन्छिन् उनी ।

व्यापार गर्दागर्दै र आफ्नो परिवारलाई हेर्नुपर्ने दायित्व पनि काँधमा आएकाले पनि आफूले विवाह नगरेको उनी बताउँछिन् । फेरि एकजना छोरी मान्छे, साँझबिहान भान्सादेखि दैनिकी काम भ्याउनुपर्छ ।

अर्कातिर घरको सबै काम सकेर अचार तयार गर्नुपर्छ । फेरि बजार लगेर बेच्नुपर्ने बाध्यता पनि छ । काँधमा अभिभावकीय जिम्मेवारी र व्यवसायी कामको चक्करमा उनले विवाहको सम्बन्धमा सोच्नै मौका पनि पाइनन् ।

No description available.

सत्यदेवी अचारको साथै खुर्सानी, टिमुर पनि बेच्ने गर्छिन् । आफ्नै बुबा र ठूलो बुबाले गरेको पुर्ख्यौली व्यवसाय धान्दै आएकी छन् । राम्रो व्यापार भए आगामी दिन पनि अचार व्यवसाय गरेरै बिताउने उनको सोच छ ।

प्रतिक्रिया