आइतबार, असार १५, २०८२

के नेपालमा पनि आउँछ कोरोनाको चौथो लहर ?

नेपालखोज २०७९ वैशाख ७ गते ९:३१

काठमाडौं । संसारमा कोरोना भाइरसको महामारीको खतरा अझैं टरेको छैन । अहिले चीन, हङकङ, कोरियासहित एसिया तथा युरोपका कैंयन् देश कोरोनाको चौथो लहरको सामना गरिरहेका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण संक्रमितहरुको संख्यामा ठूलो उच्छाल देखापरिरहेको सन्दर्भमा संसारभर सावधानीको आवश्यकता महसुस गरिएको छ ।

खुला सीमा भएको हाम्रो निकट छिमेकी भारतमा केही दिनयता कोरोना संक्रमितहरुको संख्या उल्लेखनीय रुपमा बढ्न थालेको छ । यस्तो परिस्थितिमा नेपालमा समेत कोरोना पुन: फैलन सक्ने सम्भावनाप्रति सतर्क रहनुपर्ने आवश्यकता महसुस भइरहेको छ । किनभने चीन, बेलायत, हङकङ, कोरियादेखि लिएर भारतसम्म नेपालको प्रत्यक्ष सम्पर्क भएका मुलुक हुन् ।

भारतको महाराष्ट्र र गुजरातमा एक्सई भेरियन्टका बिरामी देखापरेसँगै चौथो लहरको आंशका तीव्र अनि बलियो भएर जाँदै छ । विज्ञहरुले भारतमा आगामी मे-जुन-जुलाईतिर कोरोनाको चौथो लहर आउन सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

यता भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण फेरि एकपटक तीव्र गतिमा फैलन थालेको छ । दिल्लीका कैंयन् स्कुल-कलेज छात्र-छात्रामा कोरोनाको संक्रमण देखापरेपछि निजी स्कुल प्रबन्धकहरुले धमाधम स्कुल-कलेजहरु बन्द गरी अनलाइन कक्षा सुरु गरेका छन् । दिल्लीमा कोरोना संक्रमणदर ५ प्रतिशतभन्दा माथि पुगेको छ । एक सातामै आइसोलेसनमा बस्नेहरुको संख्या दोब्बर भएको बताइन्छ । त्यहाँ ८ अप्रिलमा ३८८ संक्रमित आइसोलेसनमा थिए भने १६ अप्रिल नपुग्दै तिनको संख्या बढेर ७७२ भयो । भारतमा चिकित्सकहरुले मास्क र कोभिड नियमहरुको ठीक ढंगले पालन गर्न नथाल्ने हो भने चौथो लहरलाई रोक्न मुस्किल हुने चेतावनी दिएका छन् ।

तथ्यांकअनुसार दिल्लीमा केवल ०.२५ प्रतिशत सक्रिय बिरामी अस्पताल भर्ना भइरहेका छन् । आश्चर्यको कुरा के छ भने अस्पताल भर्ना हुनेहरुमा २७ प्रतिशत बालबालिका छन् ।

नेपालमा हाल कोरोना मत्थर देखिए पनि अन्तर्राष्ट्रिय परिस्थिति मध्यनजर गर्दै आफूलाई तयार र सावधान अवस्थामा राख्नुपर्नेछ । खोपमा नेपालको स्थिति राम्रो भएको सन्दर्भमा अन्य पक्ष बलियो भए हामीमाथि महामारी हाबी हुने वा लकडाउन जस्तो जटिल परिस्थिति सिर्जना नहुने कुरामा सबैको ध्यान जानू आवश्यक छ ।

प्रतिक्रिया