देशभर इन्टरनेट काटिने सम्भावना किन ?

काठमाडौं । बेरुजु नतिरेको भन्दै सञ्चार मन्त्रालयले सेवा प्रदायकहरुलाई अमेरिकी डलर भुक्तानीको सिफारिस नदिँदा देशभर इन्टरनेट काटिने सम्भावना देखिएकाे छ ।
महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु नतिरेका कारण यस्ताे सम्भावना बढेकाे हाे । नेपालका करिब २० वटा सेवा प्रदायकहरुले भारतीय इन्टरनेट कम्पनीलाई करिब साढे ३ अर्ब रुपैयाँ तिरेका छैनन् ।
ब्यान्डविथको भुक्तानी यथाशीघ्र नगरे जुनकुनै बेला नेपालतर्फको ब्यान्डविथ काटिने चेतावनी भारतीय कम्पनीले नेपालका सेवा प्रदायकहरुलाई दिँदै आएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतीय कम्पनी एयरटेल र टाटाबाट इन्टरनेट ब्यान्डविथ किन्ने गरेका छन् ।
विगत ६ महिनादेखि कुनै पनि विदेशी मुद्रा उपलब्ध गराउन सञ्चार मन्त्रालयले सहजीकरण गरेको छैन । ‘सञ्चार मन्त्रालयले ६ महिनादेखि एउटा पनि डलर भुक्तानी वा सटहीका लागि स्वीकृति दिएको छैन । भारतीय कम्पनीहरुले पैसा तिर्न हामीलाई दिनहुँ ताकेता गरेको गर्यै छन्,’ इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले भने । पराजुलीका अनुसार जति सक्दो चाँडो यो समस्या समाधान गर्न सरकारले चासो देखाउनुपर्ने बताउँछन् ।

प्रतिक्रिया