एमालेले शनिबार महानगर र उपमहानगरका उम्मेदवारको नाम ‘फाइनल’ गर्ने

नेपालखोज २०७९ वैशाख ८ गते १७:५८

काठमाडाैं । नेकपा एमालेले वैशाख १० गते बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय वैशाख १० गते गर्ने भएको हो । एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले सातओटै प्रदेश कमिटीले सिफारिस गरेको नामहरु आजको बैठकमा प्रस्तुत गरेका छन् । बैठकले नामबारे थप छलफल एवं जित्न सक्ने ब्यक्तिबारे बुझ्ने भन्दै शनिवार बस्ने बैठकबाट महानगर र उपमहानगरका प्रमुख-उपप्रमुखको निर्णय गर्ने निश्कर्ष निकालेको छ । गुरुङका अनुसार ललितपुर, भरतपुर र बीरगन्ज महानगरमा एक जनाको मात्रै नाम सिफारिस भएको छ । अन्यमा भने थुप्रैको नाम आएको छ ।

आजको बैठकले शुक्रवार सार्वजनिक हुने चुनावी घोषणापत्र र पार्टी कार्यालय स्थापनाको बिषयमा निर्णय गरेको छ । गुरुङले भने, ‘पार्टी स्थापना दिवसको कार्यक्रमबारे निर्णय भयो । जसअनुसार पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्ने, त्यसपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने र कम्युनिष्ट योद्धालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । बैठकले गण्डकी प्रदेशको हकमा सरकार बनाउन सक्ने आधार रहेको भन्दै कुनै पनि प्रदेश सांसदलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।’

प्रतिक्रिया