यूएनएचसीआर भन्छ- ५० लाख युक्रेनी शरणार्थी भए

काठमाडौं । संयुक्त राष्ट्रसंघका अनुसार रुसी हमलापछि अहिलेसम्म ५० लाखभन्दा बढी युक्रेनका नागरिकले आफ्नो देश छोडेका छन् । यूएन भन्छ- युक्रेनी नागरिकहरुको यो पलायन द्वितीय विश्वयुद्धपछि युरोपको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको शरणार्थी संकट हो ।
शरणार्थीहरुका लागि जेनेभास्थित संयुक्त राष्ट्रसंघको उच्चायुक्त (यूएनएचसीआर) ले हिजो बुधबारसम्म शरणार्थीहरुको कुल संख्या ५० लाख १० हजार पुगेको बताएको छ । तीमध्ये आधाभन्दा बढी करिब २८ लाख पहिले पोल्यान्ड पुगे । यसमा कतिपय अहिले पनि त्यहीँ छन् भने कतिपय पोल्यान्ड पनि छोड्दै तेस्रो मुलुकतर्फ लागेका छन् । यद्यपि उनीहरुको संख्याका सम्बन्धमा कुनै आधिकारिक जानकारी उपलब्ध छैन ।
युक्रेनमा ७० लाख आन्तरिक विस्थापित
यूएनएचसीआरले ३० मार्चमा ४० लाख मानिसले युक्रेन छाडेको कुरा बताएको थियो । युद्ध सुरु हुँदाको तुलनामा हालका केही साता युक्रेनीहरुको पलायन केही सुस्त थियो । संयुक्त राष्ट्रसंघका अनुसार शरणार्थीहरुका अतिरिक्त युक्रेनभित्र नै ७० लाखभन्दा विस्थापित भएका छन् । युद्धभन्दा पहिले युक्रेनको जनसंख्या चार करोड चालीस लाख थियो ।
यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टुले जेनेभामा भनेकी छन्, ‘युक्रेनसँग जोडिएका सीमाहरु खुला नै रहनुपर्छ ताकि मानिसरु सुरक्षित रुपमा निस्कन सकून् । अनि जब उनीहरु छिमेकी देश पुगून् त्यहीँ उनीहरुले सहायता पाउन सकून्’ मन्टुले भनेकी छन्, ‘हामी चिन्ताका साथ हेरिरहेका छौं कि अब के होला ?’
प्रतिक्रिया