अवाञ्छित मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिलाई तत्काल कारबाही गर्ने चेतावनी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छितरुपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिहरुलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।
आज विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्याधिक मात्रामा मूल्यवृद्धि र वस्तु अभावको विभागमा गुनासो बढेकाले आयात कर्ता, वितरक, खुद्रा वितरकहरुले काबुबाहिरको परिस्थिती परेर वा काबुबाहिरको परिस्थिती देखाएर सहज हुँदाहुँदै पनि मूल्यवृद्धि गरेको विषयमा अध्ययन गरेर तत्काल कारबाही गर्ने तयारी गरिएको बताएका हुन् ।
उनले मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने बताए । महानिर्देशक शर्माले आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४ टोली बनाएर बजारमा पठाएको पनि बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिगत एक वर्षमा औसतमा ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएता पनि विभागको नियन्त्रणभन्दा बाहिर रहेको बताए ।
अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणालीमार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाई छ । विभागले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारीक र्फमहरुलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ र्फमहरुलाई कारबाही गरेको जानकारी दिएको छ ।
त्यस्तै, विभागले १ हजार १२ र्फमहरुलाई कारबाही गरे वापत् १ करोड १८ लाख ८७ हजार ५०० सय रुपैयाँ जरिवाना गरिएको बताएको छ । विभागले अनुगमनको क्रममा अनुचित व्यापारीक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम जरिवाना तथा सजाय गर्ने जनाएको छ ।

प्रतिक्रिया