आइतबार, असार १५, २०८२

‘१४ विशेषज्ञले एकैसाथ निःशुल्क ओपीडीमा सेवा दिँदै’

नेपालखोज २०७९ वैशाख ९ गते १३:०८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ‘शनिबार’ विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ । अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत शनिबार क्यान्सरसँग सम्बन्धित १० विज्ञ र यूरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी सेवामा उपलब्ध गराइने भएको हो ।

नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपीडी सेवा शनिबार पनि संचालन गर्न लागेको हो । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपिडी संचालन हुने अस्पतालले जनाएको छ ।

यसैबीच, नर्भिकको वार्षिकोत्सवको अवसर पारेर क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु पनि सार्वजनिक गरिएको छ । नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क वैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरिएको छ । ४० वर्षमाथिका महिलाका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ ।

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यसैबीच, निःशुल्क फ्री ओपिडी अभियान अन्तरगत शनिबार यूरोलोजीको २ वटा टिमले समेत अलग सेवा दिने भएको छ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी शनिवार विहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क ओपीडी तथा परामर्श सेवा संचालन गर्नेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, बिहान ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।

प्रतिक्रिया