कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो, बालुवाटारमा अनौपचारिक छलफल भने जारी

नेपालखोज २०७९ वैशाख १० गते १२:५७

काठमाडाैं । स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको जनाइएको छ ।

पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको बताइएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सरेको बुझिएको छ ।

सहमतिको खोजीमा शुक्रबार रातिसम्म बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा सहमति हुन नसकेपछि अहिले छलफल चलिरहेको छ । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । शुक्रबार राति साढे ११ बजेसम्म बसेको बैठकमा पनि सहमति भएन ।

काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।​ बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो । तर पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबन्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको थियो ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । कांग्रेसले महानगरको टिकट विधान विपरीत वितरण गर्न लागेको हो । केन्द्रीय संसदीय समितिले महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने व्यवस्था छ । तर संसदीय समिति गठन नभएकाले यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महानगर उम्मेदवार चयन गर्ने तयारी कांग्रेसको छ ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ । ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समय छुट्याइएको छ।

प्रतिक्रिया