कांग्रेसलाई जोगाउने हो भने !

झन्डै पचास वर्षदेखि सर्वचेतन मनले म नेपाली कांग्रेसमा आबद्ध भएको हुँ । अहिले मेरो आबद्धता सैद्धान्तिक मात्रै छ । म बाँचिरहेको कालखण्डमा नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणा, सरोजप्रसाद कोइराला, महेन्द्रनारायण निधि, शेख इद्रिश, शैलजा आचार्य तथा गिरिजाप्रसाद कोइरालाको विचार-प्रक्रियाको सानिध्यमा रहेर, सर्वोपरि स्वतन्त्रता र लोकतन्त्रका लागि मैले काम गरेको हुँ । नेपाली कांग्रेसमा विवादको कहिल्यै कमी रहेन । त्यसैले नेपाली कांग्रेसमा उठ्ने विवादलाई म सामान्य ठान्दछु ।
नेपाली कांग्रेस सधैं राजनीतिक, आर्थिक र सामाजिक उहापोहमा बाँचेको पार्टी हो । पहिलो राष्ट्रिय जन-आन्दोलन २०४६ पछिको समयमा पार्टीले लोकतान्त्रिक समाजवादी विचारका आधारमा जनतालाई सुरक्षादिने आशा देशभरिका कांग्रेसजनमा छाएको थियो । त्यसविपरीत कांग्रेसका दुर्दिन सुरु भए ।
अहिले समयले कोल्टे फेरेको छ । देशमा लोकतान्त्रिक गणतन्त्रको वातावरण तयार हुँदै छ । यो वातावरणमा कांग्रेस सबै विचारको मियो बनेर रहनुपर्दछ ।
अहिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विभिन्न विपक्षी दलका नेतासँग संवाद र सहमतिको राजनीतिमा छ कांग्रेस । आगामी चुनावको परिणामले राजनीतिको पानी संग्लो बनाउने आशा गर्न सकिन्छ ।
पहिलो जन-आन्दोलनपछि कांग्रेसले जनताका अपेक्षा पूरा गर्न सकेन । तर, यसले स्वतन्त्रताको आगो पनि निभ्न दिएन । वामपन्थी दलहरुसँग गठबन्धनमा रहेको कांग्रेसको नेतृत्वमा गणतन्त्रको दोस्रो राष्ट्रिय निर्वाचन हुँदै छ । तर, विभिन्न जिल्लामा कांग्रेसीहरु गठबन्धन सरकारविरुद्ध नारा लगाउँदै छन् । गठबन्धनले तोकेका उम्मेदवारका विरुद्ध उम्मेदवारी दिने प्रवृत्तिले टाउको उठाउन थालेको छ । यो विवेकसम्मत राजनीति होइन । कांग्रेसका नेताहरुले स्थानीय, प्रदेश र संघीय तहमा उठ्ने बागी उम्मेदवारलाई सहमत गराएर पार्टीलाई दुर्घटनाबाट जोगाउनुपर्छ ।
कांग्रेसमा ‘केही नपाउने’ कार्यकर्ताको कमी छैन । कांग्रेसका नाममा शासन गर्ने अवसर पाएका सुशील कोइरालादेखि शेरबहादुर देउवासम्म सबैले आ-आफ्नो भागको दुःख पाएका छन् । पछिल्लो झमटका नेताहरु कसैले पनि जनताको सेवा गरेका छैनन् । तैपनि, कांग्रेसीहरुले सुख पाउने हो भने सबभन्दा पहिले कांग्रेसलाई नै दह्रो बनाउनुपर्छ । मलाई टिकट दिएनन, हेर्नुहोस कांग्रेस हार्छ भन्ने कार्यकर्ता लोकतान्त्रिक खेलाडी कदापि होइनन् ।
प्रतिक्रिया