शनिबार, वैशाख २२, २०८१

को हुन् काठमाडौंमा मेयरकी उम्मेद्‌वार सिर्जना ?

केशव भट्टराई २०७९ वैशाख १२ गते २०:५१

काठमाडौं । सत्ता साझेदार दलहरूको तर्फबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी परेको छ । राजनीतिक वृत्तमा राजनीतिक घरनासँग जोडिएको नाम र पार्टीमा पनि गतिलै भूमिका खेलेको एक महिला नेतृको नाम सिर्जना हो ।

सिर्जना प्रकाशमानकी पत्नी र गणेशमानकी बुहारीसँगै नेपाली कांग्रेसको राजनीतिमा होमिएकी नेतृसमेत हुन् । उनी मेयर पदको उम्मेदवार हुनुमा उनको राजनीतिक पृष्ठभूमि लामो तथा गहिरो छ । राजनीतिमा सक्रिय भएकै कारणले २०३२ सालमा उनले कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् ।

२०३६ सालमा कांग्रेसलगायत विभिन्न दलमाथि प्रतिबन्ध लगाइएको अवस्थामा उनले गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारीमा रहेर सक्रिय राजनीति गरेकी थिइन् । उनले अध्ययनका क्रममा क्याम्पस एकाइ समितिमा बसेर सक्रिय राजनीति गरेकी थिइन् । अन्ततः विद्यार्थी राजनीतिकै सिलसिलामा काठमाडौंस्थित शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा कोषाध्यक्ष पद जितेकी थिइन् । विद्यार्थी राजनीति हुँदै अहिलेसम्म समग्रमा उनी राजनीतिमा सक्रिय महिना नेतृ हुन् ।

राजनीतिमा सक्रिय हुँदै आएकी सिर्जनाको नाम मेयरमा पक्कापक्की भएपछि महानगरका सर्वसाधारणले गणेशमानलाई सम्झिएका छन् । लौह पुरुष गणेशमानकी बुहारी सिर्जनाले मेयर पद जिते, काठमाडौंको मुहार फेरिन्छ कि भन्ने धेरैको अपेक्षा पनि छ ।

गठबन्धनबाट मेयर पदमा उठेकी सिर्जनाको कुशल सामाजिक कार्य र राजनीतिक सक्रियतालगायत कारणले जित लगभग निश्चित भएको आकलन गरिएको छ । नेवार समुदायको महिलाबाट महानगरको नेतृत्व हुनु काठमाडौंका सबै महिलाका लागि प्रतिष्ठाको विषय हुने केही महिला अगुवाहरू बताउँछन् । राजनीतिक जीवनमा उनको सक्रियता विद्यार्थीकालदेखि नै भएको हो ।

प्रकाशमानसँग विवाह गरेपछि केही वर्ष सिर्जना बाह्य रूपमा राजनीतिमा निष्क्रियजस्तै थिइन् । तर आन्तरिक रूपमा उनको भेटघाट र राजनीतिक सक्रियता कायमै थियो । ०४२ सालदेखि राजनीतिमा कमै मात्र सक्रिय भएकी उनी ०५९ मा कांग्रेस विभाजन भई बनेको शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा भने सक्रिय भएकी थिइन् । प्रजातान्त्रिक कांग्रेसको ११औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि पनि भएदेखि राजनीति सक्रियता कम भएको थियो ।

No description available.

यस्तै कांग्रेसको १४औं महाधिवेशनमा सिर्जना पुनः सक्रिय भएको पाइयो । यसक्रममा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि पनि बन्न सफल भइन् । समग्रमा सिर्जनाको राजनीतिको जग नभएको होइन, तर बेलाबेला निष्क्रिय हुँदा अहिलेसम्म राजनीतिक लाभको पद लिन सकेकी थिइनन् । तर जब राजनीतिमा सक्रिय रूपमा लाग्ने अठोट गरिन्, पछिल्लो समय मेयरको टिकट पाउन सफल भएकी हुन् ।

उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले अन्ततः काठमाडौंको मेयरमा सिर्जनालाई उम्मेदवार बनाउने सहमति जुटाएरै छाड्यो । कांग्रेस वृत्तका केही नेताहरू पनि काठमाडौंको मेयर पदमा उठ्ने आकांक्षी थिए । वर्षौंदेखि काठमाडौंको राजनीतिमा भिजेका अनि मेयरको आकांक्षा राख्नेहरू भने सिर्जनालाई पार्टीले मेयरमा उठाउने भएपछि हिस्स भएका छन् ।

प्रकाशमान पत्नी सिर्जनालाई राजनीतिक सक्रियता भएकै कारणले पार्टीले टिकट दिएको हो । तर कतिपय व्यक्तिले भने सिर्जनालाई टिकट दिइएको प्रकाशमानको श्रीमती र गणेशमानको बुहारी भएकै कारणले हो भन्ने प्रतिक्रिया दिएका छन् । स्वतन्त्र विश्लेषक डा. गोपीलाल न्यौपाने नेपालका कांग्रेस, कम्युनिस्टलगायत पार्टीको उम्मेदवारी छनोटप्रति पटक्कै सन्तुष्ट छैनन् । उम्मेदवारी चयन नातावाद –कृपावादका आधारमा गरिनु उपयुक्त नभएको उनको भनाइ छ ।

No description available.

आफ्नो राजनीतिक योग्यता र सक्रियता हुँदाहुँदै केही नेताहरूको नाम आफ्ना पुर्खासँग गाँसिने गरेको छ । सिर्जनाको सवाल पनि यस्तैयस्तै छ । सिर्जनाले मेयर पद पाउनु पहिलो योग्यता भनेकै आफन्तवाद भएको डा. न्यौपानेको तर्क छ । कृपावादभन्दा पनि कांग्रेस र कम्युनिस्टमा नातावाद हावी हुँदा आफ्नो मान्छेले चुनावमा अवसर पाउने गरेका छन् । राम्रो भिजन भएका उम्मेदवारको कुनै महत्त्व नभएको डा. न्यौपानेको भनाइ छ । समाज विकासमा गरेको योगदानका आधारमा उम्मेदवारी चयन गरिने कदम नचालिनु दुखद भएको नेपालखोजसँग न्यौपानेले बताए ।

गठबन्धनभित्र काठमाडौंको मेयर पदको उम्मेदवारी नेपाली कांग्रेसबाट दिने सहमति भएको थियो । कांग्रेसभित्रका टिकट नपाउनेहरूबाहेकले काठमाडौंको मेयर छनोट सम्बन्धमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् । पछिल्लो समय नेपालमा घुमिफिरी आफ्नै नातागोतालाई टिकट दिने विभिन्न पार्टीको प्रवृत्ति विद्वत् वर्ग र सर्वसाधारणलाई मन परेको छैन ।

No description available.

काठमाडौंको मेयर पदको उम्मेदवारसम्बन्धी निर्णयप्रति कांग्रेसबाहेकका गठबन्धनका नेताहरूले चुइँक्क बोलेका छैनन् । सायद सिर्जनाको राजनीतिक पृष्ठभूमि कांग्रेसबाहेक अरू दलका नेताहरूले बुझेर पनि टिप्पणी नगरिएको कांग्रेसजनहरू प्रतिक्रिया दिन्छन् । सत्ता साझेदार अनि स्थानीय स्तरमा पनि गठबन्धन गरेका दलरूलाई एक अर्को पार्टीले चयन गरेका उम्मेदवार जनप्रिय, विकासप्रेमी छन्/छैनन् भनेर ध्यान दिनुपर्ने हो, त्यो नहुनु दुखद पक्ष हो ।

कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँचजनाको नाम सिफारिस गरेको थियो । नाम सिफारिस हुनेमा सिर्जनासहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जित थिए । अन्ततः मेयर पदको उम्मेदवार सिर्जनाको पोल्टामा गएको पुग्यो ।

No description available.

सिर्जना महानगरमा जति चर्चित हुँदै छिन्, उति नै आलोचनाको घेरामा पनि छिन् । उनका पति प्रकाशमान लामो समयसम्म कांग्रेस राजनीतिमा लागेका व्यक्ति हुन् । कांग्रेस राजनीतिमा रहेर महत्त्वपूर्ण पदको जिम्मेवारी उनले बहन गरिसकेका छन् । यस्तै देशको मन्त्री पदमा रहेर पनि काम गरिसकेका छन् । उनी ‘कांग्रेसको बागडोर सम्हाल्न सक्षम छु’ भनेर दाबी गर्नेमध्ये एक हुन् ।

१४औं महाधिवेशमा देउवालाई सभापति बनाउन सहयोग गर्न नेता प्रकाशमानले विभिन्न सर्त राखेको बुझिएको छ । अवसरका लागि देउवाले प्रकाशमानलाई आश्वासन दिएको हुनुपर्ने केही विश्लेषकहरू बताउँछन् । कतिपय विश्लेषक तथा विपक्षी पार्टीका नेता–कार्यकर्ताले प्रकाशमानले पत्नी सिर्जनालाई मेयर पदमा उठाएको सर्तनामाको उपज भएको जनाउँछन् । तर राजनीतिक पृष्ठभूमि हेर्दा सिर्जना आफैंले मेयर पदमा उठ्ने गरी राजनीतिक सक्रियता बढाएको देखिएको अर्काथरिका विश्लेषक बताउँछन् ।

No description available.
तस्बिर : उर्मिला नगाल/नेपालखोज

महाधिवेशनका बेला नेता प्रकाशमान र देउवाबीच सरकारमा उपस्थिति, पार्टीमा भूमिका, अवसरलगायत विषयमा गोप्य सहमति भएको भनिएको छ । तर कुरोको चुरो के हो ? विस्तारै खुल्दै जाला ।

सानैदेखि राजनीति गरेको, उच्च शैक्षिक योग्यता र भिजन भएका व्यक्तिहरू मात्रै सफल राजनीतिज्ञ हुने गर्छन् । उनीहरूले मात्रै जनसेवा गर्न सक्छन् भने आमविश्वास छ । राजनीतिक मैदानबाटै मेयर भएका विद्यासुन्दर शाक्यलाई असफल भनिरहेका बेला सिर्जना मेयर भए कति सफल हुन सक्छिन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया