आइतबार, पुष ६, २०८२

वैकल्पिक ऊर्जा प्रवर्द्धनसँग नबिलको एलएलजी

नेपालखोज २०७९ वैशाख १२ गते १६:४८

काठमाडौं । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरूको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमबीच सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ । वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले युके एड को सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ । फण्डले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौता सँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उद्देश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्चपदस्त कर्मचारीहरू समेतको उपस्थिति थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरूलाई अझ बढी लक्षितवर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।

प्रतिक्रिया