कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्नेमात्र : केपी ओली

नेपालखोज २०७९ वैशाख १३ गते १०:२३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् ।

अध्यक्ष ओलीले झन्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई ‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् । उनले भने, ‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झन्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौं तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे । तात्कालिन रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्‍याए ।’

अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढंगले हटाइएको प्रसंग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए । ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् । अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विस्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’

कार्यक्रममा ओलीले अधिकारी नेपालका कम्युनिस्टमध्ये सबैभन्दा पुरानो कम्युनिस्ट सदस्य भएको समेत बताए । उनले भने, ‘मनमोहन अधिकारीलाई संस्थापक भनेका छैनौं तर उहाँ संस्थापक नै हो ।’

अध्यक्ष ओलीले गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको ओलीको आरोप छ । तत्कालीन अवस्थामा नेकपामा पुष्पलालविरुद्ध केशरजंग रायमाझीहरूले प्राविधिक बहुमत देखाएर हटाएजस्तै आफूमाथि प्रचण्ड-माधवले आफैंले दिएको बहुमत देखाएर षड्यन्त्र गरेको उनले दोहोर्‍याए । ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि कांग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर कांग्रेस हिँडेको छ ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्नेमात्र रहेको बताए । गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिसमात्र रहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया