एउटा अफ्रिकी देश जहाँ बिटकोइन बन्याे औपचारिक मुद्रा

काठमाडाैं । सेन्ट्रल अफ्रिकन रिपब्लिक सीएआरले बिटकोइनलाई औपचारिक मुद्राका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिएको छ । त्यसो गर्ने ऊ विश्वकै दोस्रो राष्ट्र हो । हीरा, सुन र युरेनीअम खानी भए पनि सीएआर संसारकै अतिविपन्न देशमध्ये पर्छ ।
मध्य अफ्रिकास्थित उक्त देश दशकौँ द्वन्द्वबाट आक्रान्त थियो। ऊ रुसको नजिकैको साझेदार हो । व्याग्नर ग्रूपले भर्ती गरेका भाडाका सैनिकहरूले त्यहाँ विद्रोहीहरूसँग लडाइँ गर्न सघाउँदै आएका छन् ।
बिटकोइनलाई कानुनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको सीएआरको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त निर्णयले सीएआरलाई संसारको “सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा” पुर्याएको विज्ञप्तिमा लेखिएको छ ।
गत वर्ष सेप्टेम्बर महिनामा बिटकोइनलाई कानुनी मान्यता दिने एल् साल्भाडोर विश्वकै पहिलो देश बनेको थियो । यद्यपि अन्तर्राष्ट्रिय मुद्रा कोष तथा धेरै अर्थशास्त्रीले उक्त निर्णयको आलोचना गरेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार उक्त निर्णयबाट आर्थिक अस्थिरता उत्पन्न हुन सक्ने जोखिम बढाएको थियो । बीबीसी








प्रतिक्रिया