आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

नेपालखोज २०७९ वैशाख १५ गते १५:४८

काठमाडाैं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड-१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको विभागले यस्तो वृद्धिदर आधार मूल्यका आधारमा ५.४९ प्रतिशत हुने समेत बताएको छ । विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान रहने जनाएको छ । यस्तै, अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने समेत विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को असरले वृद्धिदर प्रभावित भएको थियो । आज विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकका अनुसार कृषि तथा खानीसहितका प्राथमिक क्षेत्रले वृद्धिदरमा २.३ प्रतिशत योगदान गर्ने जनाएको छ । विभागले असारबाट नेपालीको औसत प्रति व्यक्ति आय एक हजार ३ सय ७२ अमेरिकी डलर पुग्ने उल्लेख गरेको छ । २०७४ को असारमा एक हजार १ सय ६८ डलर रहेकोमा २०४ डलर बढेर अहिलेको स्थितिमा पुगेको हो । नेपालीको औसत आम्दानी एक वर्षमा १२.३४ प्रतिशत बढेको छ ।

आर्थिक वर्ष सकिन अझैं तीन महिनामात्रै बाँकी नै रहेको अवस्थामा जीडीपीमा प्रभाव पार्ने त्यस्तो कुनै ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएकाले यस्तो प्रक्षेपण सहज रुपमै पुरा हुने देखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया