देशैभर हल्कादेखि मध्यम वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

नेपालखोज २०७९ वैशाख १९ गते ६:३८

काठमाडौं । देशैभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंलगायत आसपासका क्षेत्रमा गड्याङगुडुङसहित अहिले हल्का वर्षा भइरहेको छ ।

यस्तै अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस र वाग्मतीलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेस, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । साँझ पनि देशैभरका विभिन्न स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।

नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

भोलि (मंगलबार) दिउँसो भने प्रदेश १, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, लुम्बिनी र कर्णालीको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विभिन्न स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया